post-slider post-slider

‘आदिपुरुष’ बाहेकका हिन्दी फिल्म प्रदर्शन गर्ने चलचित्र संघको निर्णय

Image
A A

काठमाडौं - नेपाल चलचित्र संघले ‘आदिपुरुष’ बाहेक अन्य स्वदेशी तथा विदेशी चलचित्र नेपालभर प्रदर्शन गर्ने निर्णय गरेको छ।

उच्च अदालत पाटनले बिहीबार ‘हिन्दी एवं अन्य चलचित्र प्रदर्शन गर्न बाधा नगर्नु नगराउनु’ भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि चलचित्र संघले यस्तो निर्णय गरेको हो।

अदालतको आदेशको सम्मान गर्दै शुक्रबारबाटै नेपालभर फिल्म प्रदर्शन गर्ने निर्णय भएको संघका महासचिव नरेन्द्र महर्जनले जानकारी दिएका छन्।

चलचित्र संघले नेपालको कानुनको अधिनमा रही स्वतन्त्र रूपमा व्यवसाय गर्न पाउने आफूहरूको नैसर्गिक अधिकार रहेको समेत बताएको छ।

‘नेपालको कानुनको अधिनमा रही स्वतन्त्र रूपमा व्यवसाय गर्न पाउनु हाम्रो नैसर्गिक अधिकार हो। राष्ट्र र राष्ट्रियताभन्दा माथि कोही पनि छैन भन्ने नेपाल चलचित्र संघको सदैव मान्यता रहेको छ। अदालत, संविधान एवं ऐन कानुनको पालना गर्नु हरेक नागरिकको कर्तव्य रहेको हुँदा हामी चलचित्र व्यवसायीहरू उक्त कर्तव्यमा दृढ संकल्पित रहेका छौं,’ महासचिव महर्जनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

चलचित्र ‘आदिपुरुष’ मा ‘सीता भारतकी छोरी हुन्’ भन्ने संवाद समावेश गरिएको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले फिल्म प्रदर्शनमा रोक लगाएका थिए।

‘आदिपुरुष’ को संवाद भारतमा पनि नसच्चाइए काठमाडौं महानगरमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने साहले घोषणा गरेका थिए।

प्रमुख साहको यो निर्णयविरूद्ध चलचित्र व्यवसायीहरूले बुधबार उच्च अदालत पाटनमा रिट हालेका थिए।

न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले हिन्दी फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

यद्यपि काठमाडौं महानगरका प्रमुख साह भने हिन्दी फिल्म प्रदर्शन गर्न दिने उच्च अदालत पाटनको आदेश आफूले नमान्ने बताएका छन्।

आदेशलगत्तै बिहीबार उनले सामाजिक सञ्जालमार्फत उनले आफू जुनसुकै कारबाही भोग्न तयार भएको तर महानगरका सिनेमा हलमा हिन्दी फिल्म चल्न नदिने जानकारी गराएका थिए।

Tags: