post-slider post-slider

भारतमा थप ४९ सांसद निलम्बित

Image
A A

काठमाडौं- भारतमा थप ४९ सांसद निलम्बित भएका छन्। संसद बैठकमा अवरोध गरेको भन्दै उनीहरूलाई निलम्बन गरिएको हो।

मंगलबार नेसनल कन्फरेन्सका नेतासमेत रहेका सांसद फारुक अब्दुल्लाह, कांग्रेस सांसद शशि थरूर, मनिष तिवारी, कार्ती चिदम्बरम, एनसिपी सांसद सुप्रिया सुले, समाजवादी पार्टीकी सांसद डिम्पल यादवलगायतका सांसदलाई लोकसभा अध्यक्ष ओम बिरलाले निलम्बन गरेका छन्।

यसअघि सोमबार एकैदिन लोकसभाका ३३ र राज्यसभाका ४५ गरी ७८ विपक्षी सांसद निलम्बनमा परेका थिए।

यो संख्या भारतीय संसदीय इतिहासकै सबैभन्दा धेरै हो।

सन्, १९८९ मा राजीव गान्धी नेतृत्वको सरकार छँदा एकैपटक ६३ विपक्षी सांसद निलम्बनमा परेका थिए।

यतिबेला विपक्षी सांसदले संसदमा भएको सुरक्षा चुकबारे प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको जवाफ माग्दै आइरहेका छन्।

यसक्रममा उनीहरूले संसद बैठकमा नाराबाजी र प्लेकार्ड बोकेर प्रदर्शनसमेत गरेका छन्।

एक साताअघि दुई जना युवकहरू दर्शकदीर्घाबाट बैठक चलिरहेकै बेला संसद कक्षमा कुदेर प्रदर्शन गरेका थिए। उनीहरूले सभाकक्षभित्रै पहेलो रंगको धुँवा फैलाएका थिए।

संसद भवनमा आतंकी हमला भएको २२ वर्ष पुगेकै दिन पाँच तहको सुरक्षा व्यवस्थालाई झुक्याएर उनीहरू संसद बैठक कक्षमै प्रदर्शन गरेका थिए।

विपक्षी सांसदहरू यही विषयलाई लिएर प्रधानमन्त्री मोदी र गृहमन्त्री शाहको जवाफ मागिरहेका छन्।

पछिल्लो दुई दिनमा लोकसभा र राज्यसभागरी कुल १२७ सांसद निलम्बित भएपछि विपक्षी सांसदहरू सरकारको विरोधमा खनिएका छन्।

विपक्षी सांसद फारुख अब्दुल्लाहले प्रहरी गृह मन्त्रालयअन्तर्गत पर्ने भएकाले यो विषयमा गृहमन्त्री संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने बताएका छन्।

संसदमा विपक्षको एक जना पनि सांसद भएसम्म यो माग जारी रहने उनको भनाइ छ।

विपक्षी दलका सांसदहरूले मोदी सरकारमाथि तानाशाहीको आरोप लगाएका छन्।

 

Tags: