कांग्रेस मधेस सम्मेलन : अभ्यास संघीयताको, रजाइँ केन्द्रको
नेपाली कांग्रेसले पछिल्लो समय तामझामका साथ प्रदेस सम्मेलनको सुरूवात गरेको छ। लुम्बिनी र गण्डकीपछि आफ्नो ‘उर्वरभूमि’ ठानिरहेको मधेस प्रदेसमा सम्मेलन गर्यो।
लुम्बिनी र गण्डकीजस्तै कांग्रेसको मधेस सम्मेलन पनि विवादरहीत रहनसकेन। कांग्रेसले प्रदेस सम्मेलनमार्फत कार्यकर्ता र समर्थकहरूमाझ नव प्रकारको रक्तसञ्चार प्रवाह गर्न खोजिरहेको छ। संघीय व्यवस्थाबाट भुइँमान्छेमा वितृष्णा फैलिइरहेको बेला कांग्रेस प्रदेस सम्मेलनको अवधारणाबाट ऊर्जा फैलाउने प्रयास गरिरहेको छ।
यस्ता सम्मेलनहरूले कुन हदसम्म कार्यकर्ता र शुभचिन्तकमाझ यो ऊर्जा प्रवाह गर्ला त्यो त समयलै नै बताउला। तर, जसरी कांग्रेस आन्तरिक कहलमा रुमलिएको छ त्यसलाई हेर्ने हो भने २०८४ मा एकल सरकार बनाउने लक्ष्यका साथ अगाडि बढिरहेको कांंग्रेसको सपना पूरा हुनेमा शंका नै देखिन्छ।
कांग्रेसका नेताहरूकै भनाइअनुसार– मधेस प्रदेस उसको उर्वरभूमि हो। मधेसमा कांंग्रेसले जित्दा पार्टी सत्तामा पुगेको छ। मधेसले साथ नदिँदा कांंग्रेस सत्ता बाहिर बस्नुपरेको छ।
मधेसका मतदाताले हरेक कठिन परिस्थितिमा कांग्रेसलाई साथ दिएको इतिहास साक्षी छ। बीपी कोइरालाको नेतृत्वमा २०१५ सालमा क्रुर पञ्चायती व्यवस्थाका बेला होस् वा शेरबहादुर देउवाको नेतृत्वमा मधेस आन्दोलनको रापतापकाबीच।
क्रुर पञ्चायती व्यवस्थाका बेला पनि मधेसका मतदाताले आफ्नो मत दिएर कांग्रेसलाई सम्मान दिएको इतिहास छ। त्यस्तै २०७२ सालमा संविधान जारी भएर मधेस आन्दोलनको रापतापमा शेरबहादुरको नेतृत्वमा २०७४ सालमा भएको निर्वाचनमा पनि सातै प्रदेसमध्ये सबैभन्दा बढी मत कांग्रेसले मधेसबाट पायो।
सम्बन्ध दुईतर्फी हुन्छ। एउटाले माया गर्दा अर्कोले पनि त्यस्तैखाले व्यवहार प्रदर्शन गर्नुपर्ने हुन्छ। तर, किन हो किन मधेसका जनताले कांग्रेसबाट माया र स्नेह पाएको अनुभूति अझै गर्न सकेका छैनन्।
केपी ओली नेतृत्वको सरकार अपदस्थ भइसकेपछि शेरबहादुर प्रधानमन्त्री बने। भागबन्डाअनुसार उनले पार्टीका तर्फबाट सरकारमा मन्त्रीहरू त पठाए। तर, उनको क्याबिनेटमा मधेस प्रदेसबाट प्रतिनिधित्व गर्ने कोही पनि अटाएनन्।
अब कुरा गरौं, मधेस प्रदेस सम्मेलनको। कांग्रेसकै नेताहरूका अनुसार यो सम्मेलनलाई संघीय व्यवस्थाको अभ्यासको रूपमा लिइएको छ। सँधै केन्द्रबाट निर्देशित तल्लो तहका नेता कार्यकर्तालाई संघीय प्रारूपमै राजनीतिकर्म गर्न दिन सबै प्रदेसमा सम्मेलनको अवधारणा कांग्रेसले अगाडि बढाएको हो।
यही अवधारणाअनुसार पुस ५ र ६ गतेका लागि कांग्रेसले मधेस प्रदेसमा सम्मेलन गर्ने तय ग¥यो। नेता कार्यकर्ताहरूलाई लागेको थियो यो सम्मेलनमा प्रदेसका समस्या, प्रदेसका राजनीति, आगामी चुनावको रणनीतिलगायतका विषयमा छलफल र मन्थन हुनेछ।
तर, भइरहेको छ ठीक उल्टो। प्रदेस सम्मेलन भनिएको कार्यक्रमको मञ्च केन्द्रीय नेताहरूले कब्जा गरिरहेका छन्। पार्टी सभापतिदेखि सहमहामन्त्रीसम्मका केन्द्रीय पदाधिकारीहरूले मञ्च ओगेटिरहेका छन्, प्रदेस तहका नेताहरूलाई छाँयामा पारेर।
प्रदेस सम्मेलनमै प्रदेस तहका नेताहरू भूमिकाविहीन बनिरहेका छन्। न प्रदेसको समस्याबारे छलफल भइरहेको छ, न आमनागरिकलाई पार्टीसँग जोड्ने विषयमा मन्थन नै।
कांग्रेस अझै परम्परावादी सोध र बुझाइबाट बाहिर निस्कन सकिरहेको छैन। केन्द्रीय नेताहरूलाई लागिरहेको छ– मैले भनेको र दिएको निर्देशन सबै कार्यकर्ताले मान्छन् नै।
तर, समय फेरिएको आभास उनीहरूले गर्न सकिरहेका छैनन्। वा, बुझेर पनि अबुझ बनेका छन्। केही दिनअघि जन्मिएका पार्टीहरूले चुनौती दिइरहँदा कांग्रेस परम्परावादी सोचबाट बाहिरिनु जरूरी छ।
मञ्चमा उभिएर कार्यकर्ता र शुभचिन्तकहरूको ठूलो भिडमा हौसिएर चर्को भाषण गर्दैमा उभो लाग्ने स्थिति बिल्कुलै छैन।
समय र परिवेश बदलिएको छ। इन्टरनेट क्रान्तिको युगमा शब्दजालबाट मान्छेलाई भुल्याउने भूल कांग्रेसले कदापि गर्नु हुँदैन।
कांग्रेस नेताहरूलाई जरूरी छ, भुइँमान्छेसँग सम्बन्ध स्थापित गर्ने। उनीहरूको समस्या बुझेर सम्बोधनका लागि प्रयास गर्ने।
कांग्रेसले नेपालमा संघीयता र गणतन्त्र ल्याउन नेतृत्वदायी भूमिका खेलेको पक्का हो। यो व्यवस्थाको अनुभूति आमनागरिकलाई गराउन पनि उसले छाति खोलेर भूमिका निर्वाह गर्न जरूरी छ।
तर, बिडम्बना कांग्रेसकै लागि जीवन समर्पित गर्नेहरूलाई कांग्रेसले सम्मान गर्न सकिरहेको छैन। सम्मान गर्न कन्जुस्याइँ गर्ने कांग्रेसका नेताहरूको मनमा छलकपट र खुट्टा तान्ने प्रवृत्ति हावी छ।
हजारौं कार्यकर्ता र शुभचिन्तकले भरिभराउ जनकपुरधामको तिरहुतियागाछी मैदानमा कांग्रेस नेता शेखर कोइराला देखिएनन्। मञ्चमा नेताहरू त थिए, त्यहाँ विमलेन्द्र निधि थिएनन्।
विमलेन्द्र कार्यकर्ताहरूसँगै मञ्चको तल कार्यक्रमभर बसिरहे। धनुषा उनको गृह जिल्ला हो र जनकपुरधाम गृह नगर। गृह नगरमै कार्यक्रम भइरहँदा पूर्वउपसभापति र पूर्वउपप्रधानमन्त्रीसमेत भइसकेका उनलाई कार्यक्रम संयोजन गरेको प्रदेस समितिले सम्मान दिन कन्जुस्याइँ गरेको प्रष्ट नमूना हो।
मञ्चमा आसीन कतिपय नेतालाई त्यो हैसियतसम्म पु¥याउन कुनैबेला विमलेन्द्रले नै भूमिका खेलिदिएका थिए।
राजनीतिलाई कतिपयले ‘कपटीखेल’ भन्ने गरेका छन्। र, त्यो कांग्रेसको मधेस सम्मेलनमा छरपरस्ट पनि भयो।
पार्टीका पूर्वउपसभापतिको नाता र गृह नगरमै सम्मेलन भएको हिसाबले मर्यादा खोज्नु विमलेन्द्रको चाहना स्वाभाविक हो।
उनको यो चाहनालाई न पार्टी सभापतिले बुझे, न प्रदेस सभापतिले।
अनि पो सहमहामन्त्री भिष्म आङदेम्बेले कांग्रेसकै लागि जीवन समर्पण गर्नेलाई सम्मान नगर्नुको मूल्य त चुकाउनुपर्ला नि।
उनले भने,‘सभापतिज्यू, कांग्रेसको हर संघर्षमा पसिनाले लुगा सुकाउने महमनालाई सम्मान पनि नगर्ने पार्टीले अबको दिनमा के गर्न सक्छ? आज जनकपुरको भूमिपुत्रलाई पार्टीले गरेको सम्मानलाई कांग्रेसको रगतमाथिको प्रहार हो। मूल्य त चुकाउनु पर्ने होला नि।’
विमलेन्द्र र शेखरहरूको आफ्नो ‘रिजर्भेसन’ र चाहनाहरू होलान्। पार्टी र जनताका लागि आफ्ना सयकडौं चाहनाहरूलाई बलिदान दिँदै वर्षौदेखि पार्टीका लागि समर्पित उनीहरूको मन बुझ्ने प्रयास कम्तिमा नेतृत्वले गर्नुपर्दथ्यो।
तर, कांग्रेसको नेतृत्वलें सायद त्यसलाई जरूरी नै ठानेन। नेतृत्वको यो अवोधताले अरू कोहीलाई होइन पार्टी कार्यकर्ता र शुभचिन्तकहरूलाई नै निराश बनाइदिएको छ।
यही गतिमा अगाडि बढिरहे निकट भविष्यमै कांग्रेसको अहोगति आउला भनेर नकार्न सकिँदैन। आसेपासे र चाटुकारहरूको घेराबन्दीमा परेको नेतृत्व नसुध्रिन्जेल धरमरमा परिरहेको कांग्रेस आरोलो लाग्दै जानेछ। र, घण्टी कांग्रेसहरूको उदयलाई मलजल गर्न भूमिका खेल्नेछ।
संघीयता र गणतन्त्रको माला जपेरमात्रै हजारौं जनताको बलिदानबाट प्राप्त यो उपलब्धिले सार्थकता पाउनेवाला छैन। सही अर्थमा संघीयता र गणतन्त्रको अनुभूति दिलाउन मुलुककै जेठो पार्टी कांग्रेसले परम्परावादी व्यवहार परिवर्तन गर्न जरूरी छ।