post-slider post-slider

नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमा, एमालेले तीन दिन शोक मनाउने

Image
A A

काठमाडौं- नेकपा एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ।

मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालयको आकस्मिक बैठकले मंगलबारदेखि तीन दिनसम्म पार्टी र सम्बद्ध जनसंगठनका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै बैठकले विशेष शोक प्रस्ताव पारित गरेको बताए।

पार्टीका केन्द्रीय, प्रदेस र जिल्ला कार्यालयमा मंगलबारदेखि तीन दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको उनले बताए।
ज्ञवालीले पार्टीको झन्डा आधा झुकाउने निर्णय पनि भएको बताए।

नेम्वाङको निधनमा पार्टीका तर्फबाट असोज २ गते श्रद्धाञ्जलीसभा आयोजना गर्ने निर्णय भएको ज्ञवालीले जानकारी दिए।

उपमहासचिव ज्ञवालीले नेम्वाङको पार्थिव शरीर बुधबार पनि पार्टी कार्यालयमा राखिने बताए।

उनका अनुसार नेम्वाङको अन्त्येष्टि सम्भवतः बिहीबार हुनेछ।

धार्मिक तथा सांस्कृतिक विधिहरू पूरा गरेर राष्ट्रिय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गरिने एमालेका नेताहरूले बताएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने निर्णय गरेको छ।

यस्तै नेम्वाङको अन्त्येष्टि भएको दिन देशभर शोक बिदा दिने निर्णयसमेत सरकारले गरेको छ।

प्रतिनिधिसभा सदस्य एवं एमाले संसदीय दलका उपनेता नेम्वाङको काठमाडौंको बालुवाटारस्थित आफ्नो निवासमा अचेत अवस्थामा फेला परेपछि त्रिवि शिक्षण अस्पताल पु¥याइएको थियो।

मंगलबार बिहान १ः५० बजे अस्पताल पु¥याइएका उनलाई चिकित्सकले मृत घोषित गरेका थिए।

शिक्षण अस्पतालको आकस्मिक कक्ष पु¥याइँदा नेम्वाङ जीवित रहेको कुनै संकेत नदेखिएको एक चिकित्सकले बताए।

यद्यपि मुटुको धडकन फर्काउने प्रयासस्वरूप सिपिआर (कार्डियोपल्मोनरी रिससिटेसन) गरिएको थियो।

मुटुको चाल फर्काउने प्रयास असफल भएपछि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

 

Tags: