post-slider post-slider

बेमौसमी वर्षाले पाकिस्तानमा ४९ जनाको मृत्यु

Image
A A

काठमाडौं- पाकिस्तानमा लगातारको भारी वर्षा र चट्याङका कारण कम्तीमा ४९ जनाको मृत्यु भएको छ।

अधिकारीहरूका अनुसार देशको दक्षिण-पश्चिम क्षेत्रमा लगातार परेको मुसलधारे वर्षाका कारण आपतकालीन अवस्था घोषणा गरिएको छ।

गहुँ काट्ने क्रममा चट्याङ लागेर केही किसानको मृत्यु भएको छ भने वर्षाका कारण उत्तर पश्चिम र पूर्वी पञ्जाब प्रान्तमा दर्जनौं घर भत्किएका छन्।

प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरणका प्रवक्ता अरफान काथियाले पञ्जाबमा मात्रै २१ जनाको मृत्यु भएको बताए। उनका अनुसार यस हप्ता थप वर्षा हुने सम्भावना कायमै रहेको छ।

अफगानिस्तानसँग सीमा जोडिएको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा प्रकोप व्यवस्थापन प्राधिकरणका प्रवक्ता खुर्शिद अनवरले उक्त क्षेत्रमा भारी वर्षाका कारण २१ जनाको मृत्यु भएको बताए।

राजधानी इस्लामावादमा पनि मुसलधारे वर्षा भएको छ भने दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तमा ७ जनाको मृत्यु भएको छ। उत्तर पश्चिमी सहर पेशावर र बलुचिस्तानको राजधानी क्वेटामा सडकहरू बाढीले क्षतिग्रस्त भएका छन्।

प्रधानमन्त्री शाहबाज शरीफले यस प्राकृतिक प्रकोपमा आफूले अधिकारीहरूलाई जनतालाई राहत सहयोग उपलब्ध गराउन आदेश दिएको बताए। उनले वर्षाले पाकिस्तानको जलाशयमा सुधार आउने बताए।

पाकिस्तानी वातावरणविज्ञ राफे आलमले अप्रिलमा यस्तो भारी वर्षा हुनु असामान्य भएको बताए। उनले दुई वर्षअघि मार्च र अप्रिलमा पाकिस्तानमा तातो लहर आएको र अहिले पानी परेको देखेको बताए।

Tags: