post-slider post-slider

स्पेक्ट्रलाइट युकेले भन्यो – एनसेलको ८० प्रतिशत सेयरको मूल्य ४० करोड डलर

Image
A A

काठमाडौं- बेलायती कम्पनी स्पेक्ट्रलाइटले एजियटासँग ४० करोड अमेरिकी डलरमा ८० प्रतिशत सेयर खरिद गरेको बताएको छ।

एनसेलले बिहीबार जारी गरेको विज्ञप्तिमा स्पेक्ट्रलाइट युके लिमिटेडका नेपाली मुलका सेयरधनी सतिशलाल आचार्यले ४० करोड अमेरिकी डलरमा ८० प्रतिशत खेयर खरिद गरेको बताएका हुन्।

साथै प्रतिस्पर्धात्मक प्रक्रियाबाट स्पेक्ट्रलाइट युकेले एयिजाटासँग सेयर खरिद गरेको विज्ञप्तिमा दाबी गरिएको छ।

आचार्यलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ,‘एजियाटाले रेनोल्ड्स होल्डिङ्स (सेन्ट किट्समा रहेको कम्पनी) मा रहेको आफ्नो सेयर बिक्रीका लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो र स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पर्धीहरूमध्येबाट पहिलो भइ छानिएको हो। सेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र विक्रेतामार्फत निर्धारण गरिएको हो। सहमति भएको सम्झौता ढाँचाअनुसार, एजियाटाले बेस पेमेन्टबाहेक पाँच वर्ष अर्थात सन् २००२९ सम्म थप लाभहरू नाफा बाँडफाँटको रूपमा प्राप्त गर्नेछ। यस सेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ, जुन कम्पनीको कार्यसम्पादनको आधारमा विक्रेता कम्पनीले निश्चित समयावधीभित्र प्राप्त गर्नेछ। यसबाहेक यो परिवर्तनकारी सम्झौताले एनसेललाई नेपाली मूलको बृहत्तर स्वामित्वसहित कम्पनी र व्यवस्थापनमार्फत एनसेलको विकासलाई डो¥याउनेछ।’

एनसेलले अहिलेसम्मको सबै कर दायित्वहरू सम्पूर्ण रूपमा पालना गरेको र यसको प्रमाणीकरण कर कार्यालयबाट भएको विज्ञप्तिमा उल्लेख छ।

साथै कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा यसका लागि कम्पनी तयार रहेको उसले प्रष्ट पारेको छ।

‘कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानुनअनुसार यसको पालना गरिनेछ। यस प्रक्रियामा एनसेल कर कानुनको पालना गर्न प्रतिवद्ध रहेको छ,’ विज्ञप्तिमा भनिएको छ।

आवश्यक सहमतिहरूका लागि नेपाल दूरसञ्चार प्राकिरणसँग छलफल भइरहेको समेत एनसेलले जनाएको छ।

यसअघि एजियाटाले जारी गरेको विज्ञप्तिमा ६ अर्ब ६५ करोड रूपैयाँ बेसप्राइसमा एनसेलको ८० प्रतिशत सेयर किनबेच भएको उल्लेख गरिएको थियो।

आचार्यले भने बेसप्राइसबाहेक सन् २०२९ सम्म एनसेलको आम्दानीको निश्चित लाभांस एजियाटालाई पाइराख्ने जानकारी गराएका छन्।

Tags: