post-slider post-slider

शृंखलाबद्ध अपराधमा संलग्न अभियुक्त ३० वर्षपछि पक्राउ

Image
A A

वीरगञ्ज - पर्सा लगायतका जिल्लामा करिब ३० वर्षदेखि शृंखलाबद्ध अपराधमा संलग्न एक कुख्यात अभियुक्त पक्राउ परेका छन्।

सखुना प्रसौनी गाउँपालिकाका प्रेम गिरीलाई पर्सा प्रहरीले पक्राउ गरेको हो। गिरी नेपाल तथा भारतका विभिन्न स्थानहरूमा हत्या, चोरी, डकैती लगायत अन्य आपराधिक क्रियाकलापहरूमा संलग्न रही विगत लामो समयदेखि प्रहरीको खोजीमा रहेका अभियुक्त भएको पर्साका एसपी कुमोध ढुंगेलले जानकारी दिए।

२२ असोज २०६५ मा गिरीलगायत व्यक्तिकै संलग्नतामा जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन शाखा अधिकृत पदमा कार्यरत वर्ष ५२ को मोहनप्रसाद मैनालीको गोली हानी हत्या भएको थियो।

चन्दाका लागि उनीहरूले मैनालीको हत्या गरेका थिए। त्यस्तै, १२ भदौ २०५७ मा पर्साको बिन्दवासिनीका देवेन्द्रप्रसाद यादवको हत्या गरी डकैती गरेको मुद्दामा पनि उनी फरार थिए।

१९ फागुन २०६६ मा हातहतियार मुद्दामा उनी दोषी ठहर भई फरार थिए।

२०६० मा हातहतियार तथा खरखजनाका अन्य दुई मुद्दामा उनी फरार थिए भने २०५६ सालमा समेत उनीविरुद्ध सार्वजनिक अपराध मुद्दा दायर भएको एसपी ढुंगेलले बताए।

ठूलो मिहेनतपछि उनलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।

Tags: