post-slider post-slider

चाडवाड लक्षित सहुलियत पसल आसोज २१ देखि

Image
A A

काठमाडौं- चाडवाड लक्षित सहुलियत मूल्य पसल असोज २१ देखि मंसिर ३ गतेसम्म सञ्चालन गरिनेभएको छ।

आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर सहुलियत पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिए।

यस्ता पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रूपमा सामग्री उपलब्ध गराउने उद्देश्य लिइएको उनले बताएका छन्।

चाडबाडका समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ।

सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो।

सहुलियत मूल्य पसलमा सबै किसिमका चामल, दालहरू, गहुँ, आटा, पिठो, मैदा, तोरीको तेललगायतका सामग्री बजार मूल्यभन्दा प्रतिकिलो सात रूपैयाँले सस्तोमा बिक्री वितरण हुनेछ।

त्यस्तै कर्णालीको सिमी तथा गेडागुडीहरू, फापरको दाना, चिनो, कागुनो र उवा र जिउँदो खसी, बोका तथा च्याङ्ग्रामा प्रतिकिलो १० रूपैयाँ छुट दिइएको छ।

यसवर्ष सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई रू २ करोड ३२ लाख २० हजार बजेट छुट्याएको छ।

त्यस्तै, साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामनमा सहुलियत दिन सरकारले एक करोड रूपैयाँ छुट्याएको छ।

साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी प्रतिकिलो ९७ रूपैयाँमा बेच्नेछ भने बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो रू.२ र तेल तथा चिउरामा प्रतिकिलो सात रूपैयाँ छुट हुनेछ।

त्यस्तै दूग्ध विकास संस्थानले घ्यूमा प्रतिकिलो २०, पनीर प्रति दुई सय ग्राममा २० र प्रति पाँच सय ग्राममा ५० रूपैयाँ छुट दिनेछ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङको काठमाडौं उपत्यकामा रहेका ८ वटा बिक्री केन्द्र र तीनवटा घुम्ती पसलसमेत गरी जम्मा ३५ स्थामा बिक्री स्थल रहेनछ।

 

Tags: