post-slider post-slider

कांग्रेस संसदीय दलको बैठकः माओवादीले राजनीतिक बेइमानी गर्‍यो

Image
A A

काठमाडौँ - नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको छ।

आज (बिहीबार) बसेको कांग्रेस संसदीय दलको बैठकले आफूहरुले मूल्य मान्यता र गठबन्धनका सहमतिअनुसार इमानदार भएर काम गर्दा पनि प्रचण्डले कांग्रेसमाथि विश्वास घात गरेको निश्कर्ष निकालेको हो। 

‘पुष्पकमल दाहालजीले हामीलाई विश्वासघात गर्नुभयो र गठबन्धन भत्काउनु भयो । उहाँले जुन कारणहरु भनिराख्नु भएको छ, ती अत्यन्त काल्पनिक, कपोलकल्पित कारण देखाएर उहाँले गठबन्धन भत्काउनुभयो। यसलाई हामीले राजनीतिक बेइमानीको रुपमा ठहर गरेका छौं। हामी गठबन्धनप्रति प्रतिबद्ध रह्यौं । हामीले गठबन्धनका मूल्य मान्यता र गठबन्धनका सहमतिहरु पालना गर्दै गयौं । तर, उहाँले अविश्वनीय ढंगले गठबन्धन भत्काउनु भयो,’ संसदीय दलको निर्णय सुनाउँदै प्रमुख सचेतक रमेश लेखकले बताए ।

प्रधानमन्त्री प्रचण्डले गठबन्धन भत्काएर मुलुकलाई अस्थिरता र अन्यौलतातर्फ लाने काम गरेको कांग्रेस संसदीय दलको निष्कर्ष छ। प्रचण्डले गरेको विश्वासघात र राजनीतिक बेइमानीलाई विचार गरेर संसदीय दलबाट पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उनले बताए ।

प्रमुख सचेतक लेखकले उक्त जानकारी सभामुखलाई गराइने बताए । अब कांग्रेस प्रमुख प्रतिपक्षीमा रहने र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले बताए । 

Tags: