post-slider post-slider

हमासले रिहा गरेका बन्धक को हुन्?

Image
A A

काठमाडौं- हमासले १३ इजरायली र ११ विदेशीसहित २४ बन्धकलाई मुक्त गरेपछि दुई पक्षबीच भएको सहमतिअनुसार इजरायलले ३९ जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ।

हमासले चार दिनभित्र जम्मा ५० जना बन्धक रिहा गर्ने बताइए पनि त्यसमा नेपालका विपिन जोशी पर्ने नपर्नेबारे कुनै विवरण आएको छैन।

कतारले मध्यस्थता गरेको सहमतिपछि इजरायल र हमासबीच चारदिने संघर्षविराम सुरू भएको छ।

रिहा गरिएका प्यालेस्टिनीहरूमाथि हत्या प्रयास गरेको, ढुंगा हानेको जस्ता कैयौं आरोपहरू लगाइएको थियो।

तीमध्ये कतिपय दोषी ठहर भइसकेका थिए भने केहीविरूद्धको मुद्दा सुनुवाइकै क्रममा थियो।

रिहा हुनेमा २४ जना महिला र १५ जना किशोरकिशोरी छन्।

वेस्ट बैंकमा रिहा गरिएका उनीहरू आफ्नो घर फर्कन सक्ने इजरायली कारागारले जनाएको छ।

रिहा भएका प्यालेस्टिनीहरू इजरायलले पक्राउ गरेका तीन सय जना महिला र नाबालकहरूमध्येबाट इजरायल आफैंले छानेका मानिसहरू हुन्।

हमासले रिहा गरेका बन्धक को हुन्?

यसअघि हमासले बन्धक बनाएका २४ जना रिहा भएका थिए।

हमासले रिहा गरेका मानिसहरूमध्ये १० जना थाई नागरिक र एक फिलिपिनो छन्।

उनीहरू हमास र इजिप्टको सरकारबीचको छुट्टै सम्झौताअनुसार रिहा भएका हुन्।

हमासले रिहा गरेका मानिसहरूमध्ये १३ जना इजरायली छन्।

रिहा हुने इजरायलीमा दुई वर्षदेखि ८५ वर्षसम्मका मानिस छन्। हमासले ती ८५ वर्षीकी महिलालाई उनको गाउँबाटै अपहरण गरेको थियो।

त्यस्तै ७८ वर्षकी क्यान्सरपीडित, ७९ वर्ष, ७७ वर्ष र ७२ वर्षका वृद्धाहरू छन्।

हमासले रिहा गरेका मानिसहरूमा दुई, चार र ६ वर्षका बच्चाहरू र उनीहरूका आमा पनि छन्।

इजरायल र हमासबीचको अस्थायी युद्धविरामअन्तर्गत चार दिनभित्रमा ५० जना बन्धक रिहा हुने जनाइएको छ।

हमासका अनुसार त्यसको बदलामा इजरायली पक्षले उसको जेलबाट कुल १५० जना महिला र किशोर किशोरीहरू रिहा गर्नेछ।

इजरायलले गाजामा मानवीय सहायता, औषधि र इन्धन बोकेका सयौं लरीहरूको प्रवेशलाई समेत अनुमति दिने सहमति जनाएको हमासले बताएको छ।

 

Tags: