post-slider post-slider

बसाइँसराइको दर रोक्न आवश्यक छ : मन्त्री बस्नेत

Image
A A

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले जनसंख्याको बसाइँसराइ रोक्न आवश्यक भएको बताएका छन्। विश्व जनसंख्या दिवसको अवसरमा मंगलबार मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले धेरै जसो ठाउँमा स्वास्थ्य सुविधा नभएकोले पनि बसाइँसराइ भइरहेको पाइएकोले त्यसलाई रोक्न मन्त्रालयले सबै ठाउँमा स्वास्थ्य सुधिवा उपलब्ध गराउनेगरी काम गरिरहेको बताए।

मन्त्री बस्नेतले भने, ‘स्वास्थ्य सुविधा नभएर पनि मानिसहरु सुविधा सम्पन्न ठाउँमा बसाइँसराइ गरेका छन्। सबै ठाउँका नागरिकले स्वास्थ्य सेवा सुविधा पाउने गरी काम गर्नु आवश्यक छ।’ देशको तागत नै स्वस्थ्य जनशक्ति भएको भएको बताउँदै मन्त्री बस्नेतले त्यो जनशक्ति व्यवस्थित र सन्तुलित हुनु पर्ने बताए।

देशको कूल जनसंख्यामा पुरुषभन्दा महिलाको संख्या बढी भए पनि पछिल्ला वर्षको तथ्यांक हेर्दा छोरीको तुलनामा छोराको संख्या बढी हुनु गम्भीर विषय भएको बताउँदै देशको समग्र विकासका लागि लैंगिक विभेद हटाएर महिला र पुरुषसँगै लैजानुपर्ने अहिलेको आवश्यकता भएको बताए।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रमेश केसीले नेपालको जनसंख्या वृदिदर ०.९२ रहेको र प्रजनन् दर २.१ रहेको तथ्यांक प्रस्तुत गर्दै यसरी नै बर्सेनि जनसंख्या घट्दै जाने हो भने भोलिका दिनमा प्रजनन दरका विषयमा सोच्नुपर्ने अवस्था आउने बताए।

सहसचिव केसीले बसाइँसराइ जनसंख्या व्यवस्थापनको प्रमुख चुनौती भएको बताउँदै बसाइँसराइ रोक्न प्रभावकारी कदम चाल्नुपर्ने अहिलेको आवश्यकता रहेकोमा जोड दिए। कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल, देवकुमारी गुरागाई, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहसहित उच्च अधिकारी र दातृ निकायका अधिकारी सहभागी थिए। हरेक वर्ष जुलाई ११ लाई विश्व जनसंख्या दिवसका रुपमा मनाइने गरिन्छ।

Tags: