post-slider post-slider

जनकपुरधाममा राष्ट्रपति पौडेलको भ्रमणको तयारी तीव्र, नागरिक अभिनन्दन गरिने

Image
A A

जनकपुरधाम- राष्ट्रपति रामचन्द्र पौडेलको जनकपुरधाम भ्रमणका लागि तयारी थालिएको छ।

आगामी असोज ८ गते हुन लागेको पौडेलको जनकपुरधाम भ्रमणका लागि तयारी सुरू भएको हो।

पौडेलको भ्रमणका लागि नेपाली कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले विशेष अग्रसरता लिएका छन्। 

पौडेलको भ्रमणलाई मध्यनजर गरी जनकपुरधाम उपमहानगरपालिकाले मंगलबार आयोजना गरेको सर्वदलीय सर्वपक्षीय बैठकमा सहभागी हुने निधि आफैं जनकपुर पुगेका थिए।

निधिका साथै कांग्रेस सांसद रामकृष्ण यादव, केन्द्रीय सदस्य आनन्द ढुंगानासमेत बैठकमा सहभागी हुन काठमाडौंबाट जनकपुरधाम पुगेका थिए।

राष्ट्रपति पौडेलको भ्रमणलाई लक्षित गरी मंगलबार सर्वदलीय सर्वपक्षीय बैठक बोलाएको थियो।

बैठकले जनकपुरधाममा राष्ट्रपति पौडेललाई नागरिक अभिनन्दन गर्ने निर्णय गरेको उपमहानगरपालिकाका मेयर मनोज साहले जानकारी दिए।

‘राष्ट्रपतिज्यूको जनकपुरधाम भ्रमणलाई लिएर सर्वदलीय सर्वपक्षीय बैठक बस्यो। हामीले लामो छलफल गरेका छौं,’ मेयर साहले भने,‘उहाँ जनकपुरधाम आउँदा नागरिक अभिनन्दन गर्ने निर्णय भएको छ।’

नागरिक अभिनन्दन गर्ने स्थलका विषयमा पनि बैठकमा छलफल भएको छ। छलफलमा सहभागीमध्ये कतिपयले खुला स्थानमा नागरिक अभिनन्दन गर्नुपर्ने राय दिएका थिए भने वर्षाका कारण कार्यक्रम प्रभावित हुनसक्ने भन्दै हलभित्र नागरिक अभिनन्दन गर्नुपर्ने सुझाव दिएका थिए।

सर्वदलीय बैठकले राष्ट्रपति पौडेलको वडा नम्बर ४ को तिरहुतिया गाछीस्थित महेन्द्रनारायण निधि सांस्कृतिक केन्द्रमा नागरिक अभिनन्दन गर्ने निर्णय गरेको छ।

‘नागरिक अभिनन्दन कार्यक्रम कहाँ राख्नेबारे छलफल ग¥यौं। इन्डोर गर्ने कि आउटडोर भन्ने विषयमा गहन छलफल भयो,’ मेयर साहले भने,‘वर्षातको मौसम भएकाले अन्ततः इन्डोर नै गर्ने निर्णय भएको छ। महेन्द्रनारायण निधि सांस्कृतिक केन्द्रमा अभिनन्दन गर्ने निष्कर्षमा हामी पुगेका छौं।’

उनले राष्ट्रपति पौडेलको नागरिक अभिनन्दन कार्यक्रम हेर्नका लागि सांस्कृतिक केन्द्र परिसरभित्र एक हजार कुर्सीका साथै एलइडी स्क्रिन जडान गर्ने निर्णय भएको छ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल पहिलोपटक राजधानी बाहिर जान लागेका हुन्। उनको जनकपुरधाममा जानकी मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रपति पौडेल अवतरण गर्ने जनकपुर विमानस्थलदेखि जानकी मन्दिर र उनको भ्रमणमार्गमा दुवैतर्फ राष्ट्रिय झन्डा लगाउने निर्णय पनि सर्वदलीय बैठकले गरेको छ।

त्यस्तै बैठकमा सुरक्षा व्यवस्था चुस्तदुरूस्त बनाउने विषयमा पनि छलफल भएको छ।

सर्वदलीय बैठकमा प्रदेस सांसद रामसरोज यादव, जनकपुरधाम क्षेत्रका प्रदेस सांसद दीपेन्द्र ठाकुर, विभिन्न राजनीतिक दलका जिल्ला अध्यक्ष एवं प्रतिनिधि, युवा क्लबका प्रतिनिधि, सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको थियो।

 

Tags: