post-slider post-slider

मधेसका मुख्यमन्त्रीको विरोधमा टिप्पणी गरेपछि जनकपुरबाट एक चिकित्सक पक्राउ

Image
A A

काठमाडौं- मधेस प्रदेसका मुख्यमन्त्री सरोजकुमार यादवकाबारेमा सामाजिक सञ्जालमा टिप्पणी गरेपछि जनकपुरधामबाट एक चिकित्सक पक्राउ परेका छन्।

प्रहरीले जनकपुरधाम वडा नम्बर ४ आनन्दनगर बस्ने डा.अरुणकुमार झालाई पक्राउ गरेको हो।

आयुर्वेद चिकित्सक रहेका उनी जनकपुरधामको विश्वकर्मा चोकमा निजी क्लिनिक सञ्चालन गरिरहेका छन्।

मौखिक उजुरीको आधारमा उनलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

झाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर मुख्यमन्त्री यादवलाई कालोमोसो दल्ने चेतावनी दिएका थिए।

उनले लेखेको स्टाटस मुख्यमन्त्रीलाई कालो मोसो दल्ने मात्र नभइ सामाजिक सद्भाव भड्काउन प्रेरित गर्ने शब्द प्रयोग गरेकाले पक्राउ गरिएको प्रहरीको भनाइ छ।

झाले फेसबुकमा ‘मलंगवामा भएको घटनाका दोषीलाई कारबाही÷गोली हान्नुस् मुख्यमन्त्री सरोज यादवज्यू, नत्र हामी छिट्टै तपाईंलाई कालोमोसो दल्छौं’ लेखेका थिए।

संविधानले नै वाक स्वतन्त्रताको हक प्रत्याभूत गरेका बेला सामाजिक सञ्जालमा टिप्पणी गरेकै कारण झालाई पक्राउ गरिएपछि आलोचनासमेत भइरहेको छ।

नागरिकको वाक स्वतन्त्रताको अधिकार ग्यारेन्टीको माग गर्दै झालाई रिहा गर्न स्थानीय युवाहरूले माग गरेका छन्।

 

Tags: