post-slider post-slider

महोत्तरीमा दिनदहाडै बैंक लुट्ने गिरोहका एक जना पक्राउ

Image
A A

जनकपुरधाम- महोत्तरीमा दिनदहाडै हतियार देखाएर बैंक लुट्ने गिरोहका एक जना पक्राउ परेका छन्।

महोत्तरीको महोत्तरी गाउँपालिकास्थित एनएमबी बैंकमा दिनदहाडै लुटपाट गर्ने गिरोहमध्येका एक जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा भारत बिहार राज्य मधुबनी पोस्ट फुलहर टोल गोपलापुर १३ हरलाखी टोलका २० वर्षीय अजय कुमार रहेको प्रहरीले जनाएको छ।

उनलाई बुधबार महोत्तरीको मटिहानी नगरपालिका ८ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिलिपकुमार गिरीले जानकारी दिए।

पक्राउ परेका अजयविरुद्ध हातहतियार र चोरी डाकाँ मुद्दा दर्ता गरी जिल्ला अदालत महोत्तरीबाट सात दिनको म्याद लिइ अनुसन्धान भइरहेको उनले बताए।

महोत्तरी गाउँपालिका २ स्थित एनएमबी बैंकको शाखामा १६ जेठमा दिउँसै ४/५ जनाको समूहमा आएका हतियारधारी समूहले कर्मचारी र सेवाग्रहीलाई हतियार देखाएर १५ लाख रुपैयाँ तथा कर्मचारीका मोबाइल लुटेका थिए।

विना नम्बर प्लेटको दुईवटा मोटरसाइकल चढेर आएका उनीहरु बैंक लुटेर फरार भएका थिए।

बैंकमा लुटपाट भएको झन्डै डेढ महिनापछि प्रहरीले घटनामा संलग्न भनिएका एक जनालाई पक्राउ गरेको हो।

सुरुमा ३८ लाख रुपैयाँ लुटिएको भनिए पनि पछि रुजु गर्दा १५ लाख १ हजार ४९३ रुपैयाँ लुटेको पुष्टि भएको थियो।

घटनापछि मधेस प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त टोलीले सिसिटिभी फुटेजका साथै प्रत्यक्षदर्शीहरुको वयानका आधारमा छानबिन सुरु गरेको थियो।

सिसिटिभी फुटेजको आधारमा लुटेराहरुको पहिचान खुलेको थियो।

लुटपाटमा संलग्न अरु व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Tags: