भिजिट भिसामा कुवेत पुर्याएर बन्धक बनाएको आरोपमा दुई जना पक्राउ
काठमाडौं - भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा दैलेख नारायण नगरपालिका-९ घर भई काठमाडौं तार्केश्वर नगरपालिका लोलाङ बस्ने २४ वर्षीय राकेश सुनार भन्ने गोपाल सुनार र गोरखा पालुङटार नगरपालिका-८ घर भई काठमाडौं टोखा नगरपालिका-६ बस्ने २५ वर्षीय आयुष भन्ने आकाश बाबु विक रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-६ बौद्ध पिपलबोटबाट पक्राउ गरेको हो।
उनीहरूले दुबईमा सेल्स रिप्रिजेन्टेटिभमा काम लगाउने भनी कुवेत पुर्याई पीडितलाई घरेलु काममा लगाउनुको साथै शारीरिक तथा मानसिक यातना दिई बन्धक बनाएको खुल्न आएको छ।
पीडितको आफन्तबाट प्राप्त उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट कुवेतस्थित नेपाली राजदुतावाससँगको समन्वयमा पीडितलाई वैशाख २७ गते नेपाल फिर्ता ल्याइएको थियो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि मावन बेचबिखन अनुसन्धान ब्युरो बबरमहल पठाइएको तथा घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत प्रहरीले खोजी गरिरहेको छ।