राष्ट्रपति पौडेलको मुटुमा पेसमेकर राखियो
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ।
महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलेको मंगलबार मुटेको शल्यक्रिया गरेको हो।
अस्पतालका कार्यकारी निर्देशक डा.रत्नमणि गजुरेलका अनुसार राष्ट्रपति पौडेलको मुटुमा पेसमेकर राख्न शल्यक्रिया गरिएको हो।
७२ घण्टाको नियमित निगरानीपछि मुटुको चाल बेला बखतमा कम देखिएकाले विशेषज्ञहरूको सल्लाहबमोजिम शल्यक्रिया गरी पेसमेकर राखिएकाो गजुरेलले बताएका छन्।
पेसमेकरले मुटुको चाल बनाइराख्ने काम गर्छ।
गत शनिबार राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई अस्पताल भर्ना गरिएको थियो।
त्यसयता निरन्तर चिकित्सकहरूको निगरानीमा अस्पतालको सिसियुमा राखेर उनको उपचार भइरहेको थियो।
अस्पतालका अनुसार मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म लगाएर चिकित्सकहरूले शल्यक्रिया गरेका थिए।
हाल पौडेलको स्वास्थ्य सामान्य रहेको अस्पतालले वक्तव्य जारी गरेर जनाएको छ।
गत मंगलबार पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा पनि उपचार गराएका थिए।
त्यहाँ एन्जिओप्लास्टी गरेर बन्द भएको मुटुको नशा खुलाइएको थियो।
राष्ट्रपतिमा निर्वाचित भएयता पौडेल पाँचपटक अस्पताल भर्ना भएका छन्।