post-slider post-slider

प्रधानमन्त्रीको सचिवालयले भन्यो – स्वार्थ पूरा नभएपछि अमरेस झुटको खेतीमा उत्रिए

Image
A A

काठमाडौं- प्रधानमन्त्रीको सचिवायलले एनसेल सेयर खरिदबिक्री प्रकरणमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले अनर्गल र भ्रामक प्रचार गरेको बताएको छ।

सांसद सिंहले एनसेल सेयर खरिदबिक्रीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालको समेत संलग्नता दाबी गरेपछि प्रधानमन्त्रीको सचिवायलले प्रष्टीकरण दिएको हो।

‘माननीय अमरेशकुमार सिंहले आफ्नो निहीत स्वार्थ पूरा नभएपछि सम्मानीय प्रधानमन्त्रीज्यू, उहाँको परिवार र सचिवालयविरुद्ध विद्वेषपूर्ण ढंगले अनर्गल, भ्रामक प्रचार र झुटको खेती गर्दै आएका छन्,’ सचिवालयले आइतबार साँझ वक्तव्य जारी गरेर भनेको छ।

सिंहको अस्वाभाविक प्रस्तुति र अराजनीतिक बार्गेनिङ सरकारको पूर्णतासँगै सुरु भएको सचिवालयले भनेको छ।

प्रधानमन्त्रीको सचिवालयले सांसद सिंहमाथि कानुनी कारबाही गर्न प्रतिनिधिसभासँग आग्रहसमेत गरेको छ।

‘उनको यो निन्दनीय आरोप र गतिविधिको घोर भत्र्सना गर्दै प्रचलित विधि र कानुनअनुसार उपचार खोज्न हामी सम्मानित प्रतिनिधिसभाको गम्भीर ध्यानाकर्षण गराउँछौं,’ वक्तव्यमा भनिएको छ।

देशलाई ठग्न उद्देश्यले एनसेल बिक्री गरेको घटनालाई सरकारले गम्भीरतापूर्वक लिइ अध्ययन र छानबिन प्रक्रिया अगाडि बढाइसकेको बताउँदै सचिवालयले छानबिन समितिको अध्ययन र छानबिनपछि सरकारले प्रचलित कानुनअनुसार देशको स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर आवश्यक निर्णय लिने बताएको छ।

प्रधानमन्त्रीको सचिवालयले सांसद सिंहले लगाएका आरोपहरु कपोकल्पित र व्यक्तिको इज्जतमा आँच पु¥याउने खालको रहेको जिकिर गरेको छ।

‘सत्य एकातर्फ छ, तर अमरेश सिंहजस्ता जनप्रतिनिधि भन्न नि लाज लाग्ने प्रतिनिधिको अर्कोतर्फ जुन निन्दनीय प्रलाप छ, त्यो पूर्णतः झुट कपोकल्पित र व्यक्तिको इज्जत र प्रतिष्ठामाथि गम्भीर आँच पु¥याउने एवं कानुनी राज्यमाथि नै चुनौती दिने प्रकृतिको छ,’ सचिवालयले भनेको छ।

एनसेल प्रकरणमा केही व्यक्ति र समूहले प्रधानमन्त्री र सचिवालयसँग अनुचित माग गरेको र त्यो पूरा नभएपछि श्रृंखलाबद्ध दुस्प्रचार गरिरहेको प्रधानमन्त्रीको सचिवालयले भनेको छ।

वक्तव्यमा भनिएको छ,‘यस सन्दर्भमा विगत केही समयदेखि अराजनितक व्यक्ति समूहले प्रधानमन्त्री र सचिवालयसँग अनुचित माग र बार्गेनिङ गर्ने र त्यस्तो स्वार्थ पूरा नभएपछि श्रृंखलावद्ध दुस्प्रचार गर्ने गरेको कुरा पनि स्पष्ट गर्न चाहन्छौं।’

प्रधानमन्त्रीको सचिवालय सबै प्रकारका कुप्रचार, आरोपहरु सामना गर्न तयार रहेको बताउँदै वक्तव्यमा सत्य सबैसामु छर्लङ्ग हुने र दोषी कोही नछुट्ने उल्लेख गरिएको छ।

 

Tags: