post-slider post-slider

गाजामा इजरायली आक्रमण तीब्र

Image
A A

काठमाडौं- इजरायलले गाजामा आफ्नो हमलालाई तीब्र बनाएको छ भने त्यहाँ इन्टरनेट र फोन सेवा बन्द भएपछि गाजाका मानिसहरूको बाँकी विश्वसँग सम्पर्क टुटेको छ।

शुक्रबार रातभरी बमबारी गरेको इजरायलले जमिनमा पनि हमला सुरू गरेको र आफ्नो सेना तथा ट्यांकहरू गाजाको भूमिमा रहेको बताएको छ।

रातभरी भएको बमबारीका कारण गाजामा अस्तव्यस्तताको अवस्था उत्पन्न भएको छ।

मानवीय सहायातासम्बन्धी निकायहरूले त्यहाँको अवस्था भयावह रहेको चेतावनी दिएका छन्।

राष्ट्रसंघको प्यालेस्टाइनका लागि मानवीय सहायता संयोजक ल्यान हस्टिङ्सले गाजामा कुनै पनि ठाउँ सुरक्षित नरहेको बताएकी छन्।

सञ्चार सम्पर्क हुन नसकेका कारण गाजाको यथार्थ अवस्थाबारे जानकारी आउन सकेको छैन। तर, उत्तरी भागमा लगातार आक्रमण भइरहेका भिडियोहरू सार्वजनिक भएका छन्।

इजरायल डिफेन्स फोर्स (आइडिएफ) का प्रवक्ताले आफ्ना सैनिकहरू स्थल कारबाहीमा खटिएको बताएका छन्।

उनले दक्षिणी क्षेत्रका मानिसका निम्ति खाद्यान्नसहितका मानवीय सहायताका ट्रकहरू पठाइने बताएका छन्।

इजरायलले अक्टोबर ७ मा हमासले आक्रमण गरेपछि गाजामा बमबारी गरिरहेको छ।

त्यो आक्रमणमा इजरायलतर्फ १४ सय व्यक्तिको मृत्यु भएको थियो भने हमासले २२९ जनालाई बन्धक बनाएको छ।

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायलको जवाफी बमबारी सुरू भएदेखि हालसम्म ७ हजार ७ सयभन्दा बढी मानिसहरू मारिएको जनाएको छ।

त्यसमध्ये ३ हजार ५ सयभन्दा बढी बालबालिका रहेका छन्।

यसैबीच राष्ट्रसंघीय महासभाको आपतकालीन विशेष सत्रले अरब देशहरूका तर्फबाट प्रस्ताव गरिएको ‘मानवीय सहायताका लागि गाजामा युद्धविराम’ को प्रस्तावलाई बहुमतले पारित गरेको छ।

१२० देशहरू प्रस्तावको पक्षम उभिए पनि पश्चिमा देशहरू त्यसक्रममा विभाजित देखिए।

इजरायलको बलियो साझेदार अमेरिकाले यो प्रस्तावको विपक्षमा मतदान ग¥यो भने मुख्य युरोपेली देशहरू कोही मतदान प्रक्रियामा सहभागी भएनन् वा पक्षमा मतदान गरे।

नेपालले प्रस्तावको पक्षमा मतदान गरेको छ। भारत मतदान प्रक्रियामा सहभागी भएन भने चीनले प्रस्तावको पक्षमा मतदान गरेको छ। ब्रिटेन मतदान प्रक्रियामा सहभागी भएनन्।

प्रस्तावको विपक्षमा १४ देश देखिए भने मतदान प्रक्रियामा ४५ देशहरू सहभागी भएनन्।

महासभाको प्रस्ताव कानुनी रूपमा बाध्यकारी कदम नभए पनि नैतिक हिसाबले सांकेतिक रूपमा त्यसलाई अर्थपूर्ण मानिन्छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले गाजामा युद्धविरामको आह्वान दोहो¥याउँदै घटनाक्रमलाई निर्णायक क्षण बताएका छन्।

सामाजिक सञ्जालमा एउट पोस्ट लेख्दै उनले ‘इतिहासले हामी सबैको हेक्का राख्नेछ’ भनेका छन्।

युद्ध थप चर्र्र्किएसँगै बन्धकहरूको रिहाइ र गाजामा मानवीय सहायताका लागि लडाइँ रोक्नका लागि वार्ताहरू रोकिएको बताइएको छ।

 

Tags: