post-slider post-slider

धनुषामा गोली चल्यो : दुई जना घाइते

Image
A A

जनकपुरधाम - धनुषाको हंसपुर नगरपालिका–५ सुगा निकासस्थित इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप भएको छ।

झडपमा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन्।

स्थानीयको कुटाइले घाइते भएका व्यक्तिको प्रहरीको थप कुटाइबाट निधन भएको भन्दै आक्रोशित स्थानीयहरु प्रहरी चौकी घेराउ गर्न पुगेका थिए।

प्रहरी चौकी घेराउ गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप भएको हो।

झडप नियन्त्रण गर्ने क्रममा प्रहरी हवाइ फायर गर्ने क्रममा दुई जना गोली लागेर घाइते भएका छन्।

गोली लागेर सुगा निकासका ३६ वर्षीय शंकर मण्डल र १८ वर्षीय मतलुब अन्सारी घाइते भएका छन्।

घाइते अन्सारीको बायाँ पाखुरामा गोली लागेको छ भने अर्का घाइते मण्डलको दाहिने हातमा गोली लागेको छ।

प्रहरीको गोली लागेर दुई जनासहित झडपमा परी तीन जना घाइते भएको स्थानीयले बताएका छन्।

यता जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आक्रोशित स्थानीयको भीडले इलाका प्रहरी कार्यालयमा आगजनी गर्न थालेपछि प्रहरीले आत्मरक्षाका लागि चलाएको जनाएको छ।

आक्रोशित भिडले प्रहरीउपर आक्रमण गर्न खोजेको र सशस्त्र प्रहरीको एउटा मोटरसाइल पूर्णरुपमा जलाइदिएको प्रहरीको भनाइ छ।

स्थानीय दीपा मण्डललाई स्थानीयबीच भएको विवादका क्रममा इलाका प्रहरी कार्यालय पक्राउ गरेको थियो। इलाका प्रहरी कार्यालयको हिरासतमा रहेकै बेला सई तुलानन्द ठाकुरको पिटाइबाट मण्डलको संवेदनशील अंगमा चोट लागेको थियो।

सई ठाकुरको चोटबाट थप घाइते भएको उनको उपचारको क्रममा मृत्यु भएको स्थानीयको भनाइ छ।

गोली लागेर घाइते भएका अन्सारीको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने मण्डललाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ।

 

Tags: