post-slider post-slider

९ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

Image
A A

काठमाडौं- स्रोतको चापमा रहेको सरकारले चालु आर्थिक वर्ष २०८० / ८१ को सुरूवाती महिनादेखि नै आन्तरिक ऋण उठाउन थालिसकेको छ।

त्यसैअनुसार सरकारले ९ अर्ब ४ करोड रूपैयाँ आन्तरिक ऋण प्राप्त गर्नका लागि ऋणपत्र जारी गर्न सार्वजनिक आह्वान गरेको छ।

आन्तरिक ऋण प्राप्त गर्न सरकारले बिहीबार सार्वजनिक आह्वान गरेको हो।

भदौ ३१ गते निष्कासन हुने यो विकास ऋणपत्र ६ वर्षको हुने नेपाल राष्ट्र बैंकले जनाएको छ।

ऋणपत्र खरिद गर्न बोलकबोल पेस गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ।

खरिदकर्ताले अनलाइनबाटै ऋणपत्र बोलकबोल पेस गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ।

बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी तथा नेपाली नागरिकले भाग लिन सक्ने छन्।

सरकारले नेपाल राष्ट्र बैंकमार्फत अल्पकाल तथा दीर्घकालका लागि आन्तरिक ऋण उठाउने गर्छ।

स्रोत व्यवस्थापन सहज भएको अवस्थामा आर्थिक वर्षको पछिल्ला महिनातिर ऋण उठाउँदै आएकोमा आर्थिक गतिविधिमा शिथिलता आएर राजस्व संकुचन आएपछि स्रोत व्यवस्थापनका लागि यस वर्षको सुरूवाती महिनादेखि नै ऋण उठाउनुपर्ने अवस्थामा सरकार पुगेको छ।

चालु आर्थिक वर्षमा मात्रै सरकारले २ खर्ब ४० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य सरकारले लिएको छ।

 

Tags: