post-slider post-slider

भारत र चीनमा देखिएको कोभिडको नयाँ भेरिएन्टबारे नेपालमा कस्तो सतर्कता?

Image
A A

काठमाडौं- विश्व स्वास्थ्य संगठनले यसै साता ‘भेरिएन्ट अफ इन्ट्रेस्ट’ मा वर्गीकरण गरेर निगरानीमा राखेको कोरोनाभाइरस ओमिक्रोन भेरिएन्टको उपप्रजाति जेएन १ बारे नेपालमा पनि निगरानी सुरू गरिएको छ।

नेपालमा पछिल्लोपटक कोभिड पोजिटिभ देखिएका १२ वटा नमुनामा यो भेरिएन्ट रहे वा नरहेको पत्ता लगाउन जिन सिक्वेन्सिङ भइरहेको राष्ट्रिय जनसंख्या प्रयोगशालाले जनाएको छ।

यद्यपि ती नमुना जेएन १ भेरिएन्टको आशंकामा थप परीक्षणका लागि पठाइएको नभइ नियमित निगरानीका क्रममा यसो गरिएको अधिकारीहरूको भनाइ छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतबाट आउने र अन्तर्राष्ट्रिय विमानस्थल भएर आउने मानिसहरूमा कोभिड र श्वासप्रश्वाससम्बन्धी समस्या देखिए पिसिआर परीक्षण गर्न र क्वारिन्टनमा राख्न भनिएको छ।

विशेषगरी नेपालसँग खुला सिमाना रहेको भारतका विभिन्न राज्यमा यो प्रजाति देखिएको र पछिल्लो समय कोभिडका कारण चार जनाको मृत्यु भएपछि नेपालमा निगरानी सुरू गरिएको हो।

भारतको केरलामा हालसालै कोभिडको नयाँ भेरिएन्ट जेएन १ फेला पर्नुका साथै कोरोना संक्रमित चार जनाको ज्यान गएको छ।

विश्व स्वास्थ्य संगठनले कोभिडविरूद्ध मान्यता पाएका खोपहरूले यसको जोखिम कम गर्ने भए पनि थप अध्ययन आवश्यक रहेको उल्लेख गरेको छ।

उसले निगरानी गरिरहेको यो भेरिएन्ट सबैभन्दा पहिले अमेरिकामा पत्ता लागेको थियो।

तीव्र संक्रमण दर रहेको यो भाइरस हालसम्म नेपालका छिमेकी भारत र चीनसहित विश्वका ४० भन्दा धेरै देशहरूमा फैलिसकेको बताइएको छ।

यो भेरिएन्ट अहिले अमेरिकामा सबैभन्दा तीव्र गतिमा फैलिरहेको र १५ देखि ३० प्रतिशत संक्रमितहरूमा यो भेरिएन्ट देखिएको छ।

विश्व स्वास्थ्य संगठनले अहिले यसको जोखिमदर कम रहेको जनाएको छ। यद्यपि अधिकारीहरूले स्वास्थ्यको जोखिम समूहमा रहेका व्यक्तिहरूमा जोखिम हुनसक्नेतर्फ सचेत गराएका छन्।

यो भेरिएन्टले यसअघिका प्रजातिको भन्दा मानिसहरूमा थप स्वास्थ्य जटिलता देखिएको विवरण हालसम्म आएका छैनन्।

जाडोयाममा श्वासप्रश्वाससम्बन्धी अन्य समस्या पनि बढ्ने गरेका कारण सचेत रहनुपर्ने अधिकारीहरू बताउँछन्।

विश्व स्वास्थ्य संगठनले जाडोयाम सुरू हुन लागेका देशहरूमा यसले संक्रमण बढाउनसक्ने भन्दै सतर्कता अपनाउन भनेको छ।

नेपालका अधिकारीहरूले जेनएन १ भेरिएन्ट संक्रामक भए पनि घातक भएको पुष्टि नभएका कारण धेरै चिन्ता लिनुपर्ने बताएका छन्।

दक्षिणी भारतको केरलाबाट राजधानी दिल्लीसहित भारतका केही राज्यहरूमा फैलिएको पाइए पनि नेपालसँग सीमा जोडिएका राज्यहरूमा हालसम्म यो भेरिएन्ट पुष्टि भएको छैन।

नेपालमा अहिलेसम्म यो भेरिएन्ट नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रकाशशरण बुढाथोकीले बताएका छन्।

नेपालमा कोभिडविरूद्ध खोपको पर्याप्त मौज्दात, रोकथामको अनुभव र परीक्षणका लागि आवश्यक स्रोत साधन रहेका कारण यो भेरिएन्टबारे चिन्ता लिनु नपर्ने उनको भनाइ छ।

नेपालमा हालसम्म २ करोड ४४ लाख बढिले एकभन्दा बढी मात्रा र १ करोड २ लाखले कोभिडविरूद्धको बुस्टर मात्रा लगाइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ।

सरकारले हालसम्म सर्वसाधारणका लागि यो भेरिएन्टबाट जोगिनका लागि अपनाउनुपर्ने कुनै सावधानीबारे निर्देशिका जारी गरिसकेको छैन।

 

Tags: