काठमाडौं परिसर नेतृत्व गरेका छविलाल पुगे त्यसैको लकअपमा
काठमाडौं- कालिकाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा पक्राउ पुर्जी जारी भएका छविलाल जोशीलाई काठमाडौं ल्याइएको छ।
सूर्यदर्शन सहकारी संस्था पोखराको रकम अलचलनको अनुसन्धान सिलसिलामा रुपन्देही प्रहरीको हिरासतमा रहेका जोशीलाई मंगलबार काठमाडौं ल्याइएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जोशीलाई अनुसन्धानका लागि परिसरको हिरासतमा राखिएको बताए।
नेपाल प्रहरीका पूर्वडिआइजी जोशी उनै हुन्, जो एसएसपी हुँदा काठमाडौं प्रहरीको नेतृत्व गरेका थिए। कार्यक्षमता छवि नै नभएका छविलाई २०७४ सालमा तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिको जोडबलमा काठमाडौं पठाइएको थियो।
जोशी गोर्खा मिडियाका सञ्चालक हुन्। उनका पार्टनर रवि लामिछाने पनि अहिले कास्की प्रहरीको हिरासतमा छन्।
केही दिनअघि रवि र छविविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो।
स्वर्णलक्ष्मीको रकम घोटालामा संलग्न आरोपमा लामिछाने र छविसहित २१ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
उक्त सहकारी ठगीमा ६४५ जनाले उजुरी दिएका छन्। सहकारीको बचत र निक्षेप रकम सुरक्षामा प्रश्न उठेपछि पीडितहरूले लामिछाने र जोशीलाई मुद्दामा तान्न माग गरेका थिए।