आर्थिक सर्वेक्षण : ४४ मध्ये १९ सार्वजनिक संस्थान घाटामा
काठमाडौं - सरकारले पुँजीगत, प्रविधि, कार्यक्षमतालगायतमा कमजोर रहेका सार्वजनिक संस्थानलाई निजी क्षेत्रबाट सञ्चालन गर्ने गरी योजना अघि सारेको छ।
आर्थिक वर्ष २०७९ / ८० को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति सार्वजनिक कार्यक्रममा अर्थमन्त्री प्रकाशशरण महतले यस्तो बताएका हुन्।
प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको र सार्वजनिक क्षेत्रमा राखिरहन आवश्यक नभएका सार्वजनिक संस्थानहरू सक्षम व्यवस्थापनसहित निजी क्षेत्रबाट सञ्चालन गर्न आवश्यक देखिएको उनले बताए।
‘प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको र सार्वजनिक क्षेत्रमा राखिरहन आवश्यक नभएका सार्वजनिक संस्थानको पहिचान गरी थप पुँजी र सक्षम व्यवस्थापनसहित निजी क्षेत्रबाट सञ्चालन आवश्यक देखिएको छ,’ उनले भने।
मन्त्री महतले सञ्चालनमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा रहेको पनि जानकारी दिए।
उनका अनुसार ती संस्थानहरूमा सरकारको सेयर तथा ऋण लगानी ६ खर्ब १८ अर्ब रूपैयाँ पुगेको छ।
चालु आर्थिक वर्षमा ती संस्थानबाट सरकारलाई ६ अर्ब १६ करोड लाभांश प्राप्त भएको महतले बताए।
आर्थिक वर्ष २०७९ / ८० को फागुनसम्म संघीय खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.५१ प्रतिशतले वृद्धि भइ ७ खर्ब ७९ अर्ब २३ करोड पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ।
त्यस्तै आर्थिक वर्ष २०७९ / ८० को फागुनसम्म सार्वजनिक संस्थानमा ऋण तथा सेयर लगानी र वैदेशिक सेयर लगानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६७.८ प्रतिशतले घटेर ५ अर्ब १४ करोड रहेको छ।