post-slider post-slider

मन्त्री पाण्डेले दिए सांसद बजगाईंविरुद्ध कांग्रेसको अनुसाशन समिति र संसदीय दलमा उजुरी

Image
A A

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेपाली कांग्रेसमा सहमहामन्त्री बद्री पाण्डेले नेपाली कांग्रेसकै सांसद राजेन्द्र बजगाईंविरूद्ध उजुरी दिएका छन्। 

शृङ्खलबद्ध रुपमा आफूविरुद्ध कुप्रचार प्रसार गरेको भन्दै पाण्डेले पार्टी केन्द्रीय अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका हुन्। 

अनुशासन समितिमा बिहीबार र संसदीय दलमा शुक्रबार बुझाइएको उजुरीमा नेपाली कांग्रेसका महासमिति सदस्य तथा गोरखा जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्ने सांसद तथा पर्यटन व्यवसायी  बजगाईंले आफू मन्त्री नियुक्त भएदेखि नै शृखलावद्ध रुपमा विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालमा कुप्रचार गर्दै आएको उल्लेख छ। 

उजुरीमा भएिको छ, 'नेपाली कांग्रेसको निर्वाचित माननीय सांसदले पार्टीको आन्तरिक अनुशासन र मेरो व्यक्तिगत इमान, निष्ठामा धावा बोल्ने गरी भए गरेका निराधार आरोपले मेरो व्यक्तिगत भावनामाथि मात्र गम्भीर चोट नपुगी पार्टीको विचार, सिद्धान्त र आदर्शमा समेत आँच पुगेको छ। लोकतन्त्र र विधिको शासनमा यस खाले अवाञ्छित क्रियाकलापलाई कानुनको दायरामा नल्याएसम्म अराजकताले प्रोत्साहन पाई इमान र निष्ठाको उपहास हुनेछ।'

बजगाईंले एक क्यासिनोलाई इजाजत दिँदा भ्रष्टाचार गरेको भन्दै मंगलबार सामाजिक सञ्जलमा पोस्ट गरेपछि त्यसलाई लिएर केही अनलाइनहरूमा समाचार प्रकाशित भएको थियो। 

सो सम्बन्धी समाचार सार्वजनिक भएलगत्तै मन्त्री पाण्डेले आफूमाथि निराधार आरोप लागेकाले त्यसविरुद्ध कानुनी बाटो अपनाउने प्रतिक्रिया दिएपछि सांसद बजगाईंले पाण्डे विरुद्धका सबै पोस्टहरु केही घण्टापछि नै सामाजिक सञ्जालबाट हटाएका थिए। 

लिखित उजुरीमा भनिएको छ, 'मन्त्रीको सपथ ग्रहण भएको मितिदेखि शृङ्खलाबद्ध रुपमा मन्त्रालयको काम कारबाही र मेरो व्यक्तिगत चरित्र र मान-मर्यादामा आँच पुग्ने गरी कुत्सित मनसायका साथ घुस-रिसवत जस्तो गम्भीर आरोप लगाई, कुप्रचार गर्दै मेरो व्यक्तिगत, नैतिक आचारण र ख्यातीमा दोष लगाउने जस्ता अमर्यादित र गैरकानुनी कार्य गरी आउनुभएको छ। यस कार्यले नेपाली कांग्रेस पार्टी र मेरो व्यक्तिगत चरित्र र पार्टीको आन्तरिक अनुशासन तथा अंगिकार गरेका मूलभूत विचार र सिद्धान्तलाई समेत खलल पुर्‍याएको छ।'

पाण्डेले आफूले व्यक्तिगत र राजनीतिक जीवनलाई निष्ठा इमानदारी र नैतिकताको मार्गमा अविचलित रूपमा अगाडि बढाइरहेको दाबी गरेका छन्। 

'मेरो निष्ठा र इमानको बाटोलाई कुनै पनि प्रकारको दाग लाग्न नदिन दृढ सङ्कल्पित छु। माननीय बजगाईंका अवाञ्छित अराजक र गैरकानुनी कार्यले विधिको शासन, लोकतन्त्र, पार्टी र संसदीय पद्धती मर्यादा, कानुन र अनुशासनको समेत गम्भिर उलङ्घन गरेको छ,' उजुरीमा भनिएको छ।

Tags: