post-slider post-slider

‘सुराकीलाई पुरस्कारको व्यवस्था गरेकोले सय केजी सुन समातियो’

Image
A A

बुटवल- अर्थमन्त्री प्रकाशशरण महतले आफूले सुराकीलाई पुरस्कार व्यवस्था गरेकोले ठूलो परिणाममा सुन समातिएको दाबी गरेका छन्।

नेपाल प्रेस युनियन रूपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सय केजी सुन तस्करी प्रकरणबारे यस्तो बताएका हुन्।

आफूले बजेटमै सुराकी दिनेलाई पुरस्कारको व्यवस्था गर्ने घोषणा गरेकाले सय केजी सुन समात्न सफल भएको उनको भनाइ छ।

मन्त्री महतले सुन तस्करी घटनाको जरैसम्म पुगेर सत्यतथ्य बाहिर ल्याउने र दोषीलाई कारबाही हुने बताए।

‘यसअघि सुराकीलाई पुरस्कृत गर्ने व्यवस्था हटाइएको थियो। तर, यसपालि भन्सारमा हुने अनियमित कुराका विषयमा सूचना दिनेलाई पुरस्कार दिने प्रस्ताव बजेटमै गरेको थिएँ जसका कारण सुन बरामद भयो,’ महतले भने।

सुन प्रकरणसँग जोडेर कांग्रेस सांसद डा.सुनिल शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेको विषयमा पत्रकारले राखेको जिज्ञासामा महतले ‘शर्माले आफ्नो अस्पतालको स्वास्थ्य विमा रकम नपाएका कारण मनपरी बोलेको’ आरोप लगाए।

मन्त्री महतले पुँजीगत खर्चमा वृद्धि भएसँगै आर्थिक गतिविधिमा तीव्र रूपले सुधार आउने दाबी गरेका छन्।

उनले नयाँ आर्थिक वर्ष सुरू भएसँगै सरकारको खर्च गर्ने क्षमता बढ्न थालेको र यसले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने जिकिर गरे।

मौद्रिक नीति जारी भएसँगै निजी क्षेत्रको गतिविधि बढ्ने उनले विश्वास व्यक्त गरेका छन्।

देशको विकासलाई केन्द्रमा राखेर गठबन्धन सरकार अघि बढेको बताउँदै उनले विगतको जस्तो आर्थिक निराशाको वातावरण अन्त्य हुन थालेकोले अब देशमा आर्थिक गतिविधि चलायमान हुने उल्लेख गरे।

महतले तत्कालका लागि श्रोतमा केही कमी रहे पनि पुँजीगत खर्च गर्ने अवस्थामा सुधार आउनेबित्तिकै देशको आर्थिक क्षेत्रले सुधारको बाटो लिने विश्वास व्यक्त गरे।

 

Tags: