post-slider post-slider

रिगलको कैद मिनाहा गर्न सरकारलाई कारण पेस गर्न सर्वोच्चको आदेश

Image
A A

काठमाडौं- सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर भएका योगराज ढकाल ‘रिगल’ को कैद मिनाहा गर्नुको कारण पेस गर्न सरकारलाई आदेश दिएको छ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले रिट निवेदकको मागबमोजि उत्प्रेषणको आदेश किन जारी हुन नपर्ने हो भन्नेबारे मनासिब कारण भए यही असोज २४ गते साँझ ५ बजेभित्र लिखित जवाफ पेस गर्न राष्ट्रपति कार्यालयको नाममा आदेश गरेको हो।

‘यसमा के कसो भएको हो? निवेदकको मागबमोजिम उत्प्रेषणको आदेश किन जारी हुनु नपर्ने हो? आदेश जारी हुन नपर्ने मनासिव आधार, कारण र प्रमाण भए सोसमेत खुलाई प्रत्यर्थीमध्येका रिगल ढकाललाई आफैं वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत र अन्य प्रत्यर्थीहरूको हकमा महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ६ को १ बमोजिम मिति २०८० असोज २४ गते साँझ ५ बजेभित्र लिखित जवाफ पेस गर्नु भनी यो आदेश र रिट निवेदनको प्रतिलिपिसमेत साथै राखी विपक्षीहरूको नाममा म्याद सूचना तत्काल तामेल गराउनु,’ सर्वोच्चको आदेशमा भनिएको छ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा रिगलको कैद मिनाहा गरेका थिए।

रिगलको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णयपछि उनले हत्या गरेका चेतन मानन्धरको परिवारले आपत्ति जनाएका थिए।

चेतनकी पत्नी भारती शेर्पा रिगलको कैद मिनाहाविरूद्ध सर्वोच्चमा रिट दिएकी थिइन्।

 

Tags: