post-slider post-slider

डा. इवामुरा अस्पतालको लापरबाही, गल्ती छोप्न पीडितलाई छ लाख दिएर घटना सामसुम

Image
A A

भक्तपुर- भक्तपुरको सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पतालको लापरबाहीले एक जना बिरामीको ज्यान गएको विषय खुलेको छ। मुटु सम्बन्धी समस्याको उपचार गर्न गएकी एक महिलाको ज्यान गएको तथ्य खुलेको हो।

जनाइए अनुसार भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं. ५ खरिपाटीमा क्यान्टिन सञ्चालन गर्दै आएकी वर्ष ३६ की कविता सुनारको उपचार अस्पतालमा भएको थियो।

असार २५ गतेबाट अस्पतालमा उपचार सुरू गरिएकी बिरामीलाई पछि काठमाडौंको एक निजी अस्पतालमा रिफर गरिएको थियो। त्यहाँबाट पुनः इवामुरामै फर्काएर उपचार गरिएको थियो। 

इवामुराले गलत उपचार गरेको र नेपालको एक मात्र सरकारी मुटुरोग अस्पताल सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा रिफर नगरी निजी अस्पतालमा पुर्‍याएर फेरि इवामुरामै बिरामी फर्काउन लगाई उपचार गरेकाले बिरामीको ज्यान गएको आरोप आफन्तको छ। 

दुई बच्चाकी आमा सुनारको मृत्यु भएपश्चात् मृतकका आफन्तले डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भनी शव बुझ्न नमान्दा अस्पताल प्रशासन र आफन्तबीच प्रहरी प्रशासनको रोहबरमा वार्ता भएको थियो।

जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा पीडित परिवारलाई ६ लाख रुपैयाँ दिन र मृतकका दुई बच्चालाई उच्च शिक्षासम्म पढाइको व्यवस्था गरिदिन अस्पताल मन्जुर भएको थियो।

गल्ती स्वीकार गरी सहमति भएको भनिए पनि त्यो विषय अहिले मात्रै खुलेको हो। सहमतिपछि परिवारले शव बुझेको थियो।

अस्पताल व्यवस्थापक राजुमृगेन्द्र जोशीले डाक्टरको लापरबाहीले मृत्यु नभएको स्पष्ट पारे।

उपचारका लागि अर्को अस्पतालमा रिफर गरिएको तर खर्च अभावमा आफ्नै अस्पतालमा ल्याएर उपचार भएको उनले जनाए। 

केही समय अघि पनि आफैं हिडेर सोही अस्पताल पुगेका भक्तपुर नगरपालिका वडा नम्बर ७ की ४७ वर्षीय लक्ष्मीकुमार लाखाजुको पनि अस्पतालको लापरबाहीले मृत्यु भएको थियो। 

Tags: