post-slider post-slider

दसैंको आठौं दिन : महाष्टमी मनाइँदै

Image
A A

काठमाडौं- बडादसैंको आठौं दिन महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक विशेष पूजा आराधना गरी देशभर महाष्टमी पर्व मनाइँदैछ।

यो दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ।

प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमीमा नेपालीले बडादसैंको रूपमा दूर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँछन्।

शास्त्रसम्मत रूपमा दसैंघर, कोतलगायत देशभर विभिन्न शक्तिपीठमा पशुबलि दिइ दुर्गा भवानीको विशेष पूजा गरी महाष्टमी पर्व मनाइन्छ।

यस अवसरमा दुर्गा भवानीको विशेष पूजा आराधनासहित दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवीस्तोत्र पाठ गरिन्छ।

विवेकशील र अविवेकशी प्राणी दुवै मोक्ष प्राप्तिको चाहन गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको छ।

ब्रह्मणका लागि भने पशुबिल वर्जित गरिएको छ। आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाइ पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको धर्मशास्त्रविदहरूको भनाइ छ।

महाष्टमीका दिन उपत्यकाभित्रका शक्तिपीठहरू गुहेश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, संकटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, बगलामुखीलगायतका मन्दिरमा बलिसहित पूजाआजा गर्नेहरूको भिड लाग्ने गर्दछ।

त्यस्तै उपत्यकाबाहिर जनकपुरधामको राजदेवी मन्दिर, सप्तरीको छिन्न्मस्ता भगवती, गोरखाको मनोकामना, पर्साको गहवामाई, डडेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरीलगायतका शक्तिपीठहरूमा पनि बलिसहित पूजा आराधान गर्ने श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ।

 

Tags: