post-slider post-slider

सात महिनापछि रिहा भए खाँण

Image
A A

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण रिहा भएका छन्।

उच्च अदालत पाटनको फैसलाबमोजिम ३० लाख धरौटी बुझाएर शुक्रबार उनी रिहा भएका हुन्।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा खाँण सात महिनाअघि पक्राउ परेका थिए।

रिहा हुनुअघि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय लगिएको थियो।

रिहाइको प्रक्रिया पूरा गर्न खाँणलाई कारागारबाट जिल्ला अदालत काठमाडौं लगिएको थियो। त्यहाँ उनले ३० लाख बैंक ग्यारेन्टी बुझाएका थिए।

त्यसलगत्तै उनलाई सम्पत्ति शुद्धीकरणमा उपस्थित गराइएको थियो। त्यसपछि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय लगिएको थियो।

अख्तियारले साधारण तारेखमा छोडेसँगै खाँण रिहा भएका हुन्। अख्तियारले साधारण तारेखमा छोडेसँगै उनी बगलामुखी मन्दिर पुगेका थिए।

नक्कली शरणार्थी प्रकरणमा खाँणसहित उनका स्वकीय सचिव नरेन्द्र केसी २७ वैशाखमा पक्राउ परेका थिए।

प्रहरीले खाँणलाई उनको मैजुवहालस्थित घरबाट पक्राउ गरेको थियो। खाँणसहित यो प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डेलगायतलाई असार १ गते थुनामा पठाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो।

जिल्ला अदालतको यो निर्णयविरुद्ध खाँणसहितका आरोपीहरु उच्च अदालत पाटन पुगेका थिए।

उच्च अदालतका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासमा मंसिर १५ गते खाँणलाई छाड्ने वा थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशहरुको राय बाझिएको थियो।

न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्लाको आदेश उल्टाउनुपर्ने र ३० लाख रुपैया धरौटीमा छाड्नुपर्ने राय दिएका थिए।

तर, खरेलले उनी निर्दोष रहेको आधार नदेखिएको भन्दै छाड्न नहुने राय दिएका थिए।

त्यसपछि बिहीबार तेस्रो न्यायाधीशको इजलासमा पेस हुँदा उनलाई छाड्ने आदेश सदर भएको थियो।

 

Tags: