post-slider post-slider

गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा सिडिइलाई ६ महिना कैद

Image
A A

काठमाडौं- डिभिजन सडक कार्यालय विराटनगरका तत्कालीन प्रमुख तथा सिडिइ जितेन्द्रकुमार चौधरीलाई विशेष अदालतले कैद सजाय सुनाएको छ।

गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा विशेषले चौधरीलाई ६ महिनाको कैद सजाय सुनाएको हो।

यसका साथै सिडिइ चौधरीलाई २ करोड ४४ लाख रूपैयाँ जरिवाना र त्यही बराबरको सम्पत्तिबाट बिगो असुलउपर हुने फैसलामा उल्लेख छ।

पुस २९ गते विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले चौधरीविरूद्धको कसुर ठहर गरेको थियो।

विशेषले सोमबार सजाय निर्धारण गरेको हो।

उपरजिष्ट्रार धनबहादुर कार्कीका अनुसार चौधरीकी श्रीमती किरण र छोरा अभिषेकका नाममा रहेको सम्पत्तिबाट बिगो बराबरको रकम असुलउपर हुने भएको हो।

चौधरीले झन्डै साढे दुई करोड रकमको वैध स्रोत देखाउन नसक्दा यो सजाय सुनाइएको हो।

उनीविरूद्ध दुई मुद्दा रहेकोमा घुस लिएको मुद्दामा सफाइ र गैरकानुनी सम्पत्ति आर्जनमा विशेषले दोषी ठहर गरेको थियो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७६ फागुन २ र ५ मा चौधरीविरूद्ध दुई मुद्दा दायर गरेको थियो।

गैरकानुनी सम्पत्ति आर्जनमा चौधरीलाई सजाय र बाँकी दुई जनालाई जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको थियो।

चौधरीले झन्डै चार करोड रूपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी थियो।

विराटनगर डिभिजन प्रमुख हुँदा उनले एक ठेकेदार कम्पनीसँग कमिसनवापतको रकम श्रीमतीको खातामा जम्मा गर्न लगाएका थिए।

 

 

 

Tags: