post-slider post-slider

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारले आज उम्मेदवारी फिर्ता लिन सक्ने

Image
A A

काठमाडौं- राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारले शुक्रबार उम्मेदवारी फिर्ता लिनसक्ने छन्।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ताका लागि शुक्रबारको कार्यतालिका तोकेको हो।

आयोगले जनाएअनुसार राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत उम्मेदवारी दिएका ५२ जना उम्मेदवारहरुले आज आफ्नो नाम फिर्ता लिनसक्ने छन्।

उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन आजै गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली आजै प्रकाशन गर्ने आयोगले जनाएको छ।

अन्तिम नामावली प्रकाशनपछि शनिबार उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यतालिका रहेको छ।

माघ ११ गते हुने निर्वाचनका लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ।

आचारसंहिता लागु गर्ने तयारी

राष्ट्रियसभा सदस्य निर्वाचनका कार्यक्रम सुरु भइसके पनि निर्वाचन आयोगले हालसम्म आचारसंहिता लागु गरेको छैन।

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि चाँडै आचारसंहिता लागु गर्ने तयारी गरेको छ।

आयोगका प्रवक्ता पौडेलले आयोगबाट निर्णय भइ नसकेकोले आचारसंहिता लागु नभएको बताए।

उनका अनुसार एक दुई दिनभित्र आचारसंहिता लागु गर्ने तयारी आयोगले गरेको छ।

‘आचारसंहिताको सम्बन्धमा अहिलेसम्म निर्णय भइसकेको छैन। यो निर्णय आयोगले गर्ने हो। एक दुई दिनमा केही होला कि,’ उनले भने।

राष्ट्रियसभामा रिक्त हुन लागेको १९ स्थानका लागि माघ ११ गते निर्वाचन हुँदैछ।

Tags: