post-slider post-slider

टाइटानिकको भग्नावशेष हेर्न जाँदा हराइरहेका सबैको ‘मृत्यु’

Image
A A

काठमाडौं- अमेरिकी तटरक्षकहरूले टाइटानिक पानीजहाजको भग्नावशेषतर्फ जाँदै गर्दा बेपत्ता भएका सबै पाँच जनाको मृत्यु भएको बताएका छन्।

उनीहरू सवार पनडुब्बीको भग्नावशेष फेला परेसँगै आन्ध्र महासागरमा व्यापक रूपमा जारी उद्धार कार्य अन्त्य भएको छ।

एक जना अमेरिकी नौसेना अधिकारीले अमेरिकी सञ्चारमाध्यलाई आइतबार जहाज सम्पर्कविहीन भएको केही समयपछि विस्फोटसँग मिल्दोजुल्दो आवाज सुनिएको बताएका थिए।

यो साताको सुरूमा पानीमुनी आवाज सुनिएको खबर आएपछि उक्त जहाजमा रहेकाहरू अझै जीवित छन् कि भन्ने आशा जागेको थियो।

जहाज कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित दुई जना ब्रिटिस–पाकिस्तानी, एक जना ब्रिटिस व्यापारी र एक जना फ्रान्सेली अन्वेषक यात्रारत थिए।

उक्त पनडुब्बी आइतबारदेखि समपर्कविहीन भएको थियो।

उत्तरी आन्ध्र महासागरमा डुबेको टाइटन पनडुब्बी सञ्चालन गर्ने कम्पनी ओशनगेटका एक कर्मचारीले सन् २०१८ मै उक्त ‘सबमर्सबल’ मा उत्पन्न हुनसक्ने सम्भावित सुरक्षा खतराबारे चेतावनी दिएको पाइएको छ।

अमेरिकाका एक अदालतमा पेस भएका कागजपत्रमा कम्पनीका मरीन अपरेशन निर्देशक डेभिड लाक्रिजले उक्त पनडुब्बी परीक्षणपछि तयार पारेको प्रतिवेदनमा चिन्ता व्यक्त गरेका थिए।

उक्त प्रतिवेदनमा गम्भीर सुरक्षा चिन्ता उत्पन्न गराउने धेरै कुराको पहिचान गरिएको थियो।

त्यसमा टाइटन पनडुब्बीको मुख्यभागको परीक्षण गरिएको तरिकामाथि प्रश्न उठाइएको थियो।

पनडुब्बी समुद्रमा निकै तल पुग्ने भएकाले लाक्रिजले ‘टाइटनका यात्रुलाई हुनसक्ने खतराहरू’ औंल्याएका थिए।

ती दस्तावेजका अनुसार उनको चेतावनीलाई बेवास्ता गरियो। ओशनगेटका सञ्चालकहरूले बैठक बोलाए अनि उनलाई जागिरबाट बर्खास्त गरे।

एक सय वर्षभन्दा पहिले डुबेको टाइटानिक पानीजहाजको भग्नावशेष हेर्न धनाढ्य यात्रुसहित पनडुब्बी पानीमुनि गएको थियो।

पाकिस्तान मूलका ब्रिटिस धनाढ्य दाउद शाहजादा (४८) र उनका छोरा सुलेमा (१९) अनि ब्रिटिस अर्बपति हमिश हार्डिङ (५८) पनि पनडुब्बीमा थिए।

पहिला फ्रान्सको जनसेनामा काम गरेका पल अन्नी नार्गेओ (७७) पनि टाइटानिकको भग्नावशेष हेर्न सँगै गएका थिए।

उनले पहिला टाइटानिकको अन्वेशण गरेका थिए। टाइटानिकसम्मको यात्रा गराउने ओशनगेट कम्पनीका प्रमुख कार्यकारी स्टकटन रश (६१) पनि पनडुब्बीमा थिए।

सन् १९१२ मा डुबेको टाइटानिकको भग्नावशेष पानीको सतहभन्दा ३ हजार ८ सय मिटर गहिराइमा छ।

अमेरिकी तटरक्षकहरूका अनुसार यो पनडुब्बी पानीमा डुबुल्की मारेको १ घन्टा ४५ मिनेटपछि सम्पर्कविहीन भएको थियो।

 

Tags: