post-slider post-slider

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त

Image
A A

काठमाडौं- जनता समाजवादी पार्टी, नेपाल नेतृत्वको मधेश प्रदेश सरकार ढलेको छ। मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट विश्वासको मत नपाएसँगै उनी पदमुक्त भएका छन्।

कुल १०७ प्रदेश सभा सदस्यमा मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ५४ जना सांसदको समर्थन आवश्यक पर्नेमा उनले ५० मतमात्रै प्राप्त गरे। प्रदेश सभा बैठकमा उपस्थिति १०३ सदस्यमध्ये मुख्यमन्त्रीमाथि प्रदेश सभाको विश्वास छैन भन्ने अर्थात विपक्षमा ५३ जना सांसदले मतदान गरेका थिए।

मुख्यमन्त्री यादवले १७ महिनाको अवधिमा पाँच पटक प्रदेश सभाबाट विश्वासको मत लिनुपरेको थियो। चार पटकसम्म उनी विश्वासको मत प्राप्त गर्न सफल भए पनि यसपटक भने उनले विश्वासको मत पाएनन्।

मुख्यमन्त्री यादवको पक्षमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीले मतदान गरेका थिए। विश्वासको मतको विपक्षमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी), जनमत पार्टीलगायतका दलहरूले मतदान गरेका थिए।

नेपालको संविधानको धारा १८८ को उपधारा ३ अनुसार प्रदेश सभाबाट विश्वासको मत पारित हुन नसकेको खण्डमा मुख्यमन्त्री पदमुक्त हुने व्यवस्था रहेको छ।

Tags: