post-slider post-slider

एनसेल सेयर विवाद छानबिन गर्न समिति गठन, ३० दिनकाे कार्यादेश

Image
A A

काठमाडौं- सरकारले एनसेलको सेयर खरिदबिक्री विवादबारे छानबिन गर्न गठन भएको समितिलाई ३० दिनको कार्यादेश दिएको छ।

एनसेलको सेयर खरिदबिक्रीका विषयमा छानबिन गर्न टंकमणि शर्माको नेतृत्वमा गठन भएको समितिलाई सरकारले ३० दिनको कार्यादेश दिएको हो।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले एनसेलको सेयर खरिदबिक्रीलगायतका विषयमा अध्ययन गर्न सरकारले पूर्वमहालेखा परीक्षक शर्माको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

समितिको सदस्यहरूमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहेका छन्।

छानबिन समितिलाई समग्र विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन ३० दिनको कार्यादेश दिइएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

‘एनसेलको सेयर खरिदबिक्रीका सम्बन्धमा जुन प्रश्न उठेको छ, त्यसको अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय भएको छ,’ मन्त्री शर्माले भनिन्,‘पूर्वमहालेखा परीक्षक टंकमणि शर्मा नेतृत्वको समितिलाई समग्र विषयको छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ।’

त्यस्तै सरकारले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक उद्धार कार्यक्रम पहिलो चरणका लागि प्राप्त सहायतासम्बन्धी वार्ता गर्नका लागि अर्थ मन्त्रालयको सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्न अख्तियारी दिने निर्णयसमेत गरेको छ।

सरकारले खानेपानी तथा महशुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा रुद्रप्रसाद गौतम र सदस्य पदमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

 

Tags: