post-slider post-slider

‘भारतीय संसदको ‘मुरल’ मा नेपाली भूमिको नाम राखिएको विषय सरकारको नोटिसमा छ’

Image
A A

काठमाडौं- ऊर्जा तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले भारतको नयाँ संसद भवनमा राखिएको मुरल (भित्ते चित्र) मा नेपाली भूमि पनि रहेको विषय नेपाल सरकारको नोटिसमा रहेको बताएका छन्।

प्रतिनिधिसभाको प्रविधि तथा विकास समितिको बैठकमा प्रमुख प्रतिपक्षी एमालेका सांसद ठाकुरप्रसाद गैरेले यो विषयमा चासो राखेका थिए।

गैरेको प्रश्नको जवाफ दिँदै बस्नेतले सरकारको नोटिसमा यो कुरा रहेको बताएका हुन्।

‘तपाईं प्रधानमन्त्रीको भारत भ्रमण दलको सदस्य पनि हुनुहुन्छ। भारतीय संसद भवनको नक्सामा लुम्बिनी र कपिलवस्तुको नाम पनि रहेको विषय आएको छ। यस सन्दर्भमा सरकारको ध्यान पुगोस् भन्ने आग्रह गर्न चाहन्छु,’ गैरेले भनेका थिए।

जवाफमा मन्त्री बस्नेतले यो विषय सरकारको नोटिसमा रहेको र प्रकृति बुझ्न आवश्यक रहेको बताएको थिए।

उनको जवाफ थियो,‘यो विषय सरकारको नोटिसमा छ। कुन प्रकृतिको हो बुझ्न आवश्यक छ।’

मन्त्री बस्नेतले भारतको बिहारमा पनि ती नामका ठाउँ रहेको कुरा पनि आइरहेको बताए।

दुई दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उदघाटन गरेको नयाँ संसद भवनमा भारतको ‘अखण्ड भारत’ को नक्सा राखेको छ। जसमा लुम्बिनी र कपिलवस्तुलाई पनि भारतभित्र देखाइएको छ।

 

Tags: