post-slider post-slider

१५ अर्ब २४ करोडको विद्युत निर्यात

Image
A A

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रूपैयाँको विद्युत भारतलाई बिक्री गरेको छ।

देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत यसवर्ष गत २८ जेठबाट प्राधिकरणले यो मूल्य बराबरको विद्युत भारतलाई बिक्री गरेको हो।

प्राधिरणले यस वर्षको जेठदेखि २० मंसिरसम्म १ अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत निर्यात गरी १५ अर्ब २३ करोड ८० लाख रूपैयाँ आर्जन गरेको छ।

यस अवधिमा दैनिक रूपमा अधिकतम ७ सय मेगावाटसम्म विद्युत निर्यात भएको थियो। निर्यात गरिएको विद्युतको औसत बिक्री दर प्रतियुनिट ८ रूपैयाँ ७७ पैसा छ।

चालु आर्थिक वर्ष २०८० / ८१ को साउनदेखि २० मंसिरसम्मा १३ अर्ब २३ करोड ६७ लाख रूपैयाँ बराबरको विद्युत निर्यात गरिएको छ।

यसअवधिमा १ अर्ब ४७ करोड ६७ लाख युनिट विद्युत निर्यात भएको छ। निर्यात गरिएको विद्युतको औसत बिक्री दर प्रतियुनिट ८ रूपैयाँ ९६ पैसा छ।

बहाव घटी देशभित्रका जलविद्युत गृहहरूबाट उत्पादन घट्न सुरू भएको छ। तर, जाडोसँगै आन्तरिक माग बढेपछि त्यसलाई पूर्ति गर्न भारतीय बजारबाट विद्युत आयात सुरू भएको छ।

शुक्रबार रातिबाट विद्युत निर्यात बन्द हुनेछ।

 

Tags: