post-slider post-slider

मतदाता नामावलीमा नामै नभएको व्यक्ति एमाले उम्मेदवार, भएन उम्मेदवारी दर्ता

Image
A A

जनकपुरधाम- नेकपा एमालेले निर्वाचन आयोगको मतदाता नामावलीमा नामै नभएको व्यक्तिलाई राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाएको छ।

मधेस प्रदेसबाट अन्यतर्फ एमालेबाट टिकट पाएका अर्जुन सिंह राजपुतको नाम मतदाता नामावलीमा नपाइएको हो।

मतदाता नामावलीमा नाम नपाइएपछि सिंह मनोनयन दर्ता नगरी फर्किएका छन्।

एमालेले जलेश्वर नगरपालिका, फुलहटाका सिंहलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको थियो।

उनी उम्मेदवारी दर्ताका लागि जनकपुरधामस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।

तर, आम मतदाता नामावलीमा नाम भेटिएपछि निर्वाचन अधिकृतको कार्यालयले सिंहको मनोनयनपत्र दर्ता गर्न अस्वीकार गरेको छ।

निर्वाचन अधिकृतको कार्यालयले मनोनयनपत्र दर्ता गर्न अस्वीकार गरेपछि उनी निराश भएर फर्किएका छन्।

भक्तपुरस्थित जनकपुर इन्जिनियरिङ कलेजका सञ्चालकसमेत रहेका सिंह एमालेसम्बद्ध बुद्धिजीवी संगठनका अध्यक्षसमेत हुन्।

उनले मतदाता नामावलीमा नाम दर्ता गराउन एक साताअघिमात्र निवेदन दिएको बताइएको छ।

केही दिनअघिमात्र आवेदन दिएकाले उनको नाम मतदाता नामावलीमा सूचीकृत भइसकेको छैन।

सिंहको मनोनयन अस्वीकृत भएपछि उनको ठाउँमा अर्को उम्मेदवार खडा गराउन एमाले छलफलमा जुटेको बताइएको छ।

एमालेबाट टिकट पाएर मतदाता नामावलीमा नाम नहुँदा मनोनयन दर्ता गर्न नपाएका सिंह पहिलो व्यक्ति होइनन्।

यसअघि पहिलो संविधानसभामा एमालेबाट टिकट पाएका धनुषाका गंगाराम यादवले पनि मतदाता नामावलीमा नहुँदा मनोनयन दर्ता गर्नबाट बञ्चित भएका थिए।

 

Tags: