प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन्।
शनिबार साँझ ६ बजे प्रधानमन्त्री प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
उनी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका हुन्।
चारदिने भारत भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड गत १७ गते नयाँदिल्ली प्रस्थान गरेका थिए।
भ्रमणका क्रममा ऊर्जा, व्यापार, कार्गो रेल, पारवहन, डिजिटल भुक्तानी प्रणालीलगायतका विषयमा उनले भारतसँग सातवटा मुख्य सम्झौता गरेका छन्।
चारदिने भ्रमणका क्रममा विभिन्न सातवटा सम्झौता भए पनि इपिजी प्रतिवेदन, पञ्चेश्वर परियोजना, सीमा विवादलगायतका विषयमा भने ठोस सहमति हुन सकेन।
इपिजी प्रतिवेदनको कुरा झिक्दा माहोल बिग्रिनसक्ने भएकाले यो विषयमा छलफल नगरेको प्रचण्डले शुक्रबार नयाँदिल्लीमा नेपालका पत्रकारहरुलाई भनेका थिए।
त्यस्तै पञ्चेश्वर परियोजनाअन्तर्गतको महाकाली नदीको पानी बाँडफाँटका विषयमा एक वर्षभित्र डिपिआर तयार पार्ने कुरा भएको उनले बताएका थिए।
कालापानी, लिपुलेकलगायतका क्षेत्रमा देखिएको सीमा विवाद अगाडि नबढाइ विकल्पका रुपमा बंगलादेशको बाटो लिन सकिने प्रचण्डको भनाइ थियो।
प्रचण्डले आफ्नो भारत भ्रमणलाई ऐतिहासिक र दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पु¥याएको दाबी गरेका छन्।
भारत भ्रमणकै क्रममा प्रधानमन्त्री प्रचण्डसहित नेपाल सरकारका मन्त्रीहरु शुक्रबार मध्य प्रदेसको उज्जैनस्थित महाकालेश्वर मन्दिर पुगेर पूजाअर्चना गरेको थियो।
प्रधानमन्त्री प्रचण्डसहित सरकारका मन्त्रीहरु त्यहाँ ‘गेरुवा’ बस्त्र धारण गरेर महाकालेश्वर मन्दिरमा पूजा अर्चना गरेका थिए।
प्रचण्डलाई मध्य प्रदेसको इन्दौरमा त्यहाँका मुख्यमन्त्री शिवराजसिंह चौहानले स्वागत गरेका थिए।
चारदिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले नयाँदिल्लीमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय र प्रतिनिधिमण्डलस्तरीय भेटावार्ता गरेका थिए।
त्यस्तै उनले भारतका राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखडे, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव विनयमोहन क्वात्रालगायतसँग भेटवार्ता गरेका थिए।
१० पुसमा तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले पहिलो विदेश भ्रमण भारतबाट गरेका हुन्।