post-slider post-slider

‘आदिपुरुष’ ले एक दिनमै कमायो १४० करोड भारतीय रूपैयाँ

Image
A A

काठमाडौं- विवादित बनेको दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ ले रिलिज भएको पहिलो दिन नै विश्वभर १४० करोड भारतीय रूपैयाँ कमाएको छ।

चलचित्र निर्माताले यो जानकारी दिएका हुन्।

निर्माण कम्पनी टी–सिरिजले ‘आदिपुरुष’ हिन्दीमा बनेको कुनै पनि फिल्मको तुलनामा देशमा पहिलो दिनमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको बताएको छ।

यो फिल्ममा प्रभासले राघव, कृति सेननले जानकी र सैफअलि खानले लंकेशको भूमिका निभएका छन्।

यो फिल्म हिन्दी, तेलुगु, तमिल, कन्नड र मलायम भाषामा ६ हजारभन्दा बढी स्क्रिनमा रिलिज भइसकेको छ।

हिन्दी फिल्म ‘आदिपुरुष’ का कैयौैंं संवादलाई लिएर भारतमै पनि विवाद चर्किएको छ। 

यो फिल्मलाई प्रतिबन्ध लगाउन माग गर्दै दिल्ली उच्च अदालतमा निवेदन परेको छ। हिन्दु सेनाका राष्ट्रिय अध्यक्ष विष्णु गुप्ताले रिट दायर गरेका हुन्। 

उनले रिटमा फिल्मका धेरै दृष्य, संवाद र पात्र हटाउन माग गरेका छन्।

सीताको चरित्रसँग जोडिएको एक संवादले नेपालमा पनि विवाद सिर्जना भएको छ। यो फिल्ममा सीतालाई ‘भारतकी छोरी’ भनिएको छ।

सीता ‘भारतकी छोरी’ हुन् भन्ने विषयमा फिल्मका पटकथा लेखक तथा गीतकार मनोज मुन्तशिरले विवादित बयान दिएका छन्।

सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको बताउँदै उनले जानकी भारतकी छोरी रहेको बताएका छन्।

मनोजले यो कुरा नेपालीले बुझ्न नसकेको पनि उल्लेख गरेका छन्।

‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने विवादित संवादलाई लिएर ब्यापक विरोध भइरहँदा लेखक मनोजले राष्ट्रको रूपमा नेपाल र भारत आज पनि अलग नरहेको तर्क गरेका छन्। 

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पनि यो संवादमा आपत्ति जनाएका छन्।

उनले फिल्मबाट ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद हटाउन आग्रह गरेका छन्।

‘आदिपुरुष’ निर्माण गर्न पाँच सय करोड भारतीय रूपैयाँ खर्च भएको बताइएको छ।

 

Tags: