post-slider post-slider

कोसीमा सरकार गठनका लागि प्रदेस प्रमुखबाट आह्वान

Image
A A

काठमाडौं- कोसी प्रदेसका प्रदेस प्रमुख पर्शुराम खापुङले प्रदेसको मुख्यमन्त्रीका लागि दाबी गर्न दलहरूलाई आह्वान गरेका छन्।

प्रदेस प्रमुख खापुङले शुक्रबार प्रदेससभामा प्रतिनिधित्व गर्ने दलहरूलाई मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेका हुन्।

सर्वोच्च अदालतले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नियुक्तिलाई बदर गरिदिएपछि खापुङले नयाँ मुख्यमन्त्री चयन प्रक्रिया सुरू गरेका हुन्।

मुख्यमन्त्रीमा दाबी पेस गर्न साउन १६ गते मंगलबार साँझ ६ बजेसम्मको समय दिइएको छ।

सभामुख बाबुराम गौतमसमेतको समर्थनमा मुख्यमन्त्री बनेका थापाको नियुक्तिलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि कोसी प्रदेसमा नयाँ सरकार गठनको प्रक्रिया सुरू भएको हो।

थापाको नियुक्ति प्रक्रिया असंवैधानिक भएको भन्दै नेकपा एमाले संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा रिट हालेका थिए।

कार्कीको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले मुख्यमन्त्री नियुक्ति प्रक्रिया बदर गर्दै सात दिनभित्र नयाँ सरकार गठन गर्न आदेश दिएको छ।

‘सम्मानित सर्वोच्च अदालतको पूर्ण इजलासबाट भएको आदेशबमोजिम जुन विन्दुबाट संविधानको प्रयोग र पालनमा त्रुटि भएको हो सोही अवस्थाबाट संविधानसम्मत तवरले प्रक्रिया अगाडि बढाउन मनासिब हुने देखिएको हुँदा साउन १७ गतेभित्र नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेससभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेससभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी भएकाले सोही आधारमा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम कोसी प्रदेससभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कोसी प्रदेससभाको सदस्यलाई कोसी प्रदेसको मुख्यमन्त्री नियुक्त गरी कोसी प्रदेस सरकार गठन गर्ने प्रयोजनका लागि मिति २०८० साउन १६ गते मंगलबार ५ बजेभित्र आफ्नो दाबी पेस गर्न कोसी प्रदेसका माननीय प्रदेस प्रमुख पर्शुराम खापुङज्यूले आह्वान गर्नुभएको छ,’ प्रदेस प्रमुख कार्यालयका निमित्त सचिव नरेन्द्रकुुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

 

Tags: