post-slider post-slider

एक–डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणा गर्ने तयारी हुँदैछ : प्रधानमन्त्री

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको बताएका छन्।

शुक्रबार सुनसरीस्थित इनरूवा सबस्टेशनको उदघाटन कार्यक्रममा उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले नेपालको ऊर्जा क्षेत्रले फड्को मारिरहेको उल्लेख गरे।

‘नेपाल सरकारको दिशानिर्देश, नेपाल विद्युत प्राधिकरणको योजना र नेपाली जनताको सहयोगले नेपालको ऊर्जा क्षेत्रले फड्को मारिरहेको छ। घर र बस्तीमा बत्ती बाल्नमात्र नभएर समृद्धि र देशलाई नै उज्यालो बनाउन विद्युत उत्पादन, प्रसारण र वितरण गर्ने योजनाका साथ अहिले उत्साहजनक कामहरू भइरहेका छन्,’ उनले भने।

प्रचण्डले विगतमा आफ्नै नेतृत्वको सरकारले जनतालाई अँध्यारो लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको पनि बताए।

देशभित्र उत्पादित विद्युत यहीँ खपत गर्नका लागि सरकारले केही दिन अघिमात्र विद्युत खपत वृद्धिसम्बन्धी कार्ययोजना मन्त्रिपरिषदबाट पारित गरेको उनले जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डले नदीबाट विद्युत उत्पादन गर्ने र नेपालका सहर–सहर र गाउँगाउँमा पु¥याउनेमात्र नभइ उत्पादित बिजुली छिमेकमा बेच्ने र विदेशी मुद्रा आर्जन गर्ने अवसर सिर्जना भइसकेको उल्लेख गरे।

 

Tags: