बाबुरामलाई ‘बाइपास’ गरेर महिन्द्रलाई पार्टी एकताका लागि प्रचण्डको पत्र
काठमाडौं- नेकपा माओवादी केन्द्रले बाबुराम भट्टराईलाई ‘बाइपास’ गरेर नेपाल समाजवादी पार्टी (नेसपा) लाई पार्टी एकताका लागि पत्राचार गरेको छ।
माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ न्यूयोर्क प्रस्थान गर्नुअघि नेसपा अध्यक्ष बाबुराम भट्टराईलाई ‘बाइपास’ गरेर अर्का अध्यक्ष महिन्द्रराय यादवलाई पार्टी एकताका लागि पत्राचार गरेका हुन्।
भट्टराईलाई ‘बाइपास’ गरेर यादवलाई पत्राचार भएपछि नेसपाभित्र तरंग पैदा भएको छ।
३० भदौको मिति राखेर अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरी नेसपा अध्यक्ष यादवलाई पत्र पठाइएको हो।
माओवादी केन्द्रको चुनाव चिह्नमा चुनाव जितेका यादव हाल खानेपानीमन्त्री हुन्।
‘...केही समयअगाडिदेखि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीको बीचमा पार्टी एकताका लागि दुवै पक्षबीच वार्ता टोली बनाइ सम्बाद हुँदै आइरहेको छ। एउटै पार्टी बनाउने लक्ष्यका साथ सम्पन्न प्रतिनिधिसभा र प्रदेससभाको निर्वाचनमा दुवै पक्षका उम्मेदवारहरूले एउटै चुनाव चिह्न गोलाकार भित्रको हसिया हथौडा लिएर निर्वाचनको अभियानमा सहकार्य पनि गरियो। दुवै पक्षबीचको वार्ताको क्रममा पार्टी एकताको लागि पार्टीको नाम सम्बन्धमा छलफल चलिरहेको छ,’ पत्रमा भनिएको छ,‘यही भदौ २५ गते अध्यक्ष कमरेड प्रचण्डको अध्यक्षतामा बसेको यस पार्टीको केन्द्रीय कार्यालय (पदाधिकारीहरू) को बैठकमा पार्टी एकतासम्बन्धमा गम्भीरताका साथ छलफल भयो र अन्त्यमा पार्टी एकतालाई सफल तुल्याउनका लागि पार्टीको नामको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोस्टभित्र रहेको माओवादी केन्द्रबारे आगामी महाधिवेशनमा खुला रूपले छलफल गरी आवश्यक निर्णय लिन सकिने भनी गरिएको निर्णयलाई जानकारीको लागि पत्राचार गरिएको छ।’
भट्टराईले गत निर्वाचनमा आफ्नो क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई उम्मेदवार बनाएका थिए।
प्रधानमन्त्री प्रचण्ड यतिबेला संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्कमा छन् भने भट्टराई यतिबेला भारत पुगेका छन्।