post-slider post-slider

कांग्रेस नेता निधि र शिवसेनाका नेता दानवेबीच भेटवार्ता

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र र भारत महाराष्ट्र विधान परिषदका प्रमुख प्रतिपक्षी दलका नेता अम्बादास दानवेबीच भेटवार्ता भएको छ।

नेपालको निजी भ्रमणका क्रममा काठमाडौं आइपुगेका दानवे र नेता निधिबीच शुक्रबार साँझ मध्य बानेश्वरस्थित निधि निवासमा भेटवार्ता भएको हो।

दानवे महाराष्ट्रको औरंगाबादबाट विधान परिषद सदस्यमा शिवसेना (उद्धव ठाकरे) बाट निर्वाचित भएका हुन्।

भेटका क्रममा नेपाल–भारत तथा नेपाल–मुम्बईबीच रहेको धार्मिक, सांस्कृतिकलगायतका विषयमा कुराकानी भएको निधिको सचिवालयले जनाएको छ।

त्यस्तै नेता निधि र दानवेबीच नेपाल तथा भारतको राजनीतिक प्रणाली एवं समसामयिक विषयमा छलफल भएको थियो।

साउन महिना र पुरुषोत्तममास भएकोले आफू पशुपतिनाथमा पुजाआजा गर्न काठमाडौं आएको दानवेले बताएका छन्।

दानवेसँगको भेटका क्रममा नेता निधिले शिवसेना अध्यक्ष उद्धव ठाकरेसँग समेत टेलिफोनमा कुराकानी गरेका थिए। 
ठाकरेले आफू पशुपतिनाथको दर्शनका लागि काठमाडौं आउन इच्छुक रहेको बताएका थिए।

त्यस अवसरमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता निधिले उनलाई नेपाल भ्रमणका लागि निम्तो दिएका थिए। त्यस्तै ठाकरेले पनि निधिलाई महाराष्ट्र भ्रमणका लागि निम्तो गरेका थिए।

जवाफमा निधिले उपयुक्त समय मिलाएर आफू महाराष्ट्र आउने बताएको उनको सचिवालयले जनाएको छ।

नेता निधिसँगको भेटमा शिवसेना नेता दानवेका साथै उनकी पत्नी र अशोकसिंह नेपालीको उपस्थिति रहेको थियो।

शुक्रबार दिउँसो काठमाडौं आइपुगेका दानवेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय दूतावासका प्रोटोकल अधिकारी धिरज सिंहले स्वागत गरेका थिए।

 

Tags: