post-slider post-slider

मिडियासँग नबोल्ने देउवाले किन गरे केन्द्रीय समिति बैठक लाइभ गर्ने प्रस्ताव?

Image
A A

काठमाडौं- मिडियासँग कम अन्तरक्रिया गर्नेमध्येका एक नेता हुन्, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा। 

सार्वजनिक कार्यक्रममा आफ्ना कुरा राखे पनि देउवा सञ्चारकर्मीहरूसँग झट्ट बोल्दैनन्। बरू आफ्ना कुरा नजिकका नेताहरूबाट बोल्न लगाउँछन्।

मिडियामाझ विरलै आउने र आए पनि एक दुई शब्दमा जवाफ सकाइहाल्ने बानी देउवाको छ।

उही देउवा यसपालि केन्द्रीय समिति बैठक लाइभ गर्ने प्रस्ताव गरेका छन्।

आफ्नो निवास धुम्बराहीमा सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सभापति देउवाले केन्द्रीय समिति बैठक लाइभ गर्ने प्रस्ताव गरेका हुन्।

सहमहामन्त्री महेन्द्र यादवले पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकमा सभापति देउवाले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव गरेको बताए।

‘पार्टी बैठकका कुरा सबै बाहिर गइहाल्छन्। त्यसो गर्नुभन्दा पार्टीको फेसबुक पेजमै बैठकको लाइभ नै गरौं। टिभीलाई पनि बैठक लाइभ गर्न दिऊँ,’ देउवाको भनाइ उद्धृत गर्दै यादवले भने।

यादवका अनुसार मंगलबार दिउँसो १ बजे बस्ने केन्द्रीय समिति बैठकको लाइभ हुने सम्भावना रहेको छ।

पार्टी बैठकका सबै कुरा बाहिर आउने गरेकोमा देउवाले यसअघि असन्तुष्टि व्यक्ति गरिसकेका छन्।

बैठकमा उठेका कुरा हुबहु मिडियामा आउने गरेको भन्दै देउवाले बैठकका कुरा बाहिर नल्याउन आग्रह गरेका थिए।

आग्रहका बाबजुद बैठकमा उठेका विषय मिडियामा आउन नरोकिएपछि देउवाले केन्द्रीय समिति बैठक लाइभ गर्ने प्रस्ताव गरेको बुझिएको छ।

केन्द्रीय समिति बैठक लाइभ गर्ने सभापति देउवाको प्रस्तावमा सोमबारको बैठकमा सहभागी धेरै नेताहरू सहमत देखिएका छन्।

केही नेताले भने लाइभ हुँदा लाइभ हुँदा कतिपय नेताहरूले मनदेखि बोल्दैनन् भन्ने तर्क समेत बैठमा आएको थियो।

‘भोलि लाइभ गरौं र समीक्षा गरेर अघि बढ्ने कुरा भएको छ। भोलि सायद लाइभ हुन्छ। त्यसको प्रतिक्रिया हेरेर निरन्तरता दिने कि नदिने निर्णय हुन्छ,’ एक नेताले भने।

Tags: