post-slider post-slider

दक्षिण कोरियाको एक कम्पनीको नीति : एउटा बच्चा जन्माए ७५ हजार डलर दिने

Image
A A

काठमाडौं - घट्दो जन्मदर सुधार गर्न दक्षिण कोरियाको एक निर्माण कम्पनीले आफ्ना कर्मचारीलाई सन्तान जन्माउन प्रोत्साहन गर्ने नीति लिएको छ। उक्त कम्पनीले अब प्रतिबच्चा ७५ हजार डलर अर्थात् (झण्डै एक करोड रुपैयाँ) दिने घोषणा गरेको छ।

सियोलस्थित निर्माण कम्पनी बोयोङ ग्रुपले फेब्रुअरी ६ मा एक विज्ञप्ति जारी गर्दै यो प्रस्ताव महिला र पुरुष दुवैका लागि रहेको बताएको छ।

२०२१ पछि ७० सन्तान जन्माउने कर्मचारीलाई कम्पनीले कुल ५२.५ लाख डलर दिनेछ।

दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार आफ्ना कर्मचारीहरूलाई सन्तान जन्माउन प्रोत्साहनमा यति ठूलो रकम छुट्याउन गरिएको निर्णय त्यहाँको कुनै पनि कम्पनी वा संस्थाका लागि पहिलो हो।

मिडिया रिपोर्टहरूका अनुसार यो प्रस्तावले कर्मचारीहरूलाई परिवार हुर्काउन मद्दत गर्ने कम्पनीको प्रतिबद्धतालाई पनि प्रतिबिम्बित गरेको छ।

बुयोङ समूहका अध्यक्ष ली जुङ किउनले बालबालिका हुर्काउने आर्थिक बोझ कम गर्न कम्पनीले आफ्ना कर्मचारीहरूलाई आर्थिक सहायता उपलब्ध गराएको बताए। उनले भने, ‘यदि कोरियाको जन्मदर कम रह्यो भने बीस वर्षमा देश लोप हुने खतरा छ।'

निम्न जन्मदरले आर्थिक बोझ र काम र पारिवारिक जीवनलाई सन्तुलनमा राख्न कठिनाइ हुने भएकाले यस्तो महत्त्वपूर्ण कदम चाल्ने निर्णय गरिएको पनि उनले बताए।

तीन बच्चा भएका कर्मचारीहरूले २ लाख २५ हजार डलर नगद वा घरमध्ये एउटा लिने विकल्प हुने पनि किउङले बताए। घर निर्माणका लागि सरकारले जग्गा उपलब्ध गराए तीन सन्तान भएका कर्मचारीलाई भाडामा बस्न दिन पनि कम्पनी तयार रहेको उनको भनाइ थियो।

बुयाङ ग्रुपले धेरै सन्तान जन्माउनेलाई करमा छुट दिन पनि सरकारलाई आग्रह गरेको छ। कम्पनीको यो घोषणालाई कम्पनीका कर्मचारीहरुले स्वागत गरेका छन्। 'म बच्चा हुर्काउनका लागि आर्थिक कठिनाइबारे चिन्तित थिएँ, तर कम्पनीको सहयोगको कारण म अब अर्को बच्चा जन्माउन सक्षम छु,' जनवरीमा बुबा बनेका एक व्यक्तिले भने।

दक्षिण कोरियामा जन्मदर विश्वमा सबैभन्दा कम छ। सन् २०२२ मा दक्षिण कोरियामा प्रजनन दर ० दशमलव ७८ प्रतिशत थियो। गत वर्षको यो दर अझै घट्ने सम्भावना छ। विकसित देशहरूमा सैद्धान्तिक रूपमा स्थिर जनसंख्या दर कायम गर्न, कम्तीमा २ दशमलव १ प्रतिशत जन्मदर आवश्यक छ।

दक्षिण कोरियाको केन्द्रीय र स्थानीय सरकारले पनि जन्मदर बढाउन बच्चा जन्माउने सबैलाई नगद र अन्य सुविधा दिने विचार गरिरहेको छ।

दक्षिण कोरियाले सन् २००६ देखि जन्मदर बढाउन १६६ अर्ब डलरभन्दा बढी खर्च गरिसकेको छ, तर सन् २०६७ मा यो देशको जनसंख्या ३ करोड ९० लाख पुग्ने र औसत उमेर ६२ वर्ष पुग्ने प्रक्षेपण गरिएको छ।

Tags: