.png)

प्रचण्डले संसदमा सुनाए कांग्रेससँगको गठबन्धन तोडिनुका विभिन्न कारण

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन तोडिनुमा कांग्रेस नै जिम्मेवार रहेको बताएका छन्।
बिहीबार संसद्मा उठेका महत्त्वपूर्ण विषयमा आज जवाफ दिँदै प्रचण्डले संघीय र प्रदेश निर्वाचनमा कांग्रेसबाट अपेक्षित तहमा सहयोग नपाएको र कांग्रेसले महासमिति बैठकमा समेत आफूहरूको मानमर्दन गरेको बताए।
'निर्वाचनमा नेकपा माओवादी केन्द्रले जुन तहमा कांग्रेसलाई सघायो, त्यही तहमा आफूले सहयोग पाएन। त्यसले आपसी विश्वास कमजोर बनाएकै थियो, निर्वाचनपछि माओवादीलाई सरकारको नेतृत्व दिने सहमतिबाट पनि नेतृत्व पछि हट्यो। एउटा परिस्थतिमा फेरि जोडिएपछि पछि कोशी प्रदेशमा त कांग्रेसको एउटा समूहले विद्रोह नै गर्यो। गठबन्धनको नैतिकताको कसीमा त्यो “विद्रोह” दण्डित हुनुपर्ने थियो तर भयो पुरस्कृत। राष्ट्रिय सभा निर्वाचनमा त्यो समूहले माओवादी उम्मेदवारलाई अन्तरघातबाट पराजित नै गर्यो,' प्रचण्डले भने।
प्रचण्डले कांग्रेस महासमिति बैठकमा बिनासन्दर्भ गठबन्धनको निन्दा गरिएको पनि बताएका छन्। जुन गठबन्धनले कांग्रेसलाई पहिलो पार्टी बनायो, त्यही गठबन्धनको निन्दा गरिएको उनको भनाइ छ । 'निर्वाचन आउन चार वर्ष बाँकी छँदै गठबन्धनका साझेदारहरूमाथि अनावश्यक र बेसमयको मानमर्दन कतैबाट पनि विवेकपूर्ण र राजनीतिक थिएन,' उनले भने।
साथै कांग्रेस महासमिति बैठकमा स्टल नै राखेर धर्मका नाममा हस्ताक्षर अभियान चलाएकोप्रति पनि प्रधानमन्त्रीले असन्तुष्टि जनाएका छन्। 'संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको अनि समावेशी, धर्मनिरपेक्ष र समाजवादउन्मुख संविधान निर्माणको मुख्य साझेदार रहेको नेपाली कांग्रेसको महासमिति बैठकमा स्टल नै राखेर जसरी धर्मका नाममा हस्ताक्षर अभियान चलाइयो, त्यसले कांग्रेसको संविधानप्रतिको प्रतिबद्धतामै आशंका जनाउन सक्ने जमिन तयार गर्यो,' प्रचण्डले भने ।