काठमाडौं महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध
काठमाडौं- काठमाडौं महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ।
महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरेको महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए।
उनकाअनुसार आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारी तथा प्रयोगलाई पूर्णरूपमा निषेध गरिएको छ।
प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, बिँडी, तम्बाखु, सुल्फा, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डार, बिक्री र प्रयोग गर्न नपाइने भन्दै महानगरपालिकाले गत मंसिर १२ गते सार्वजनिक सूचना जारी गरेको थियो।
कसैले बिक्री वितरण गरेको पाइए नगर प्रहरीमार्फत त्यस्ता किसिमका सामग्री जफत गरी कारबाही गरिने सूचनामा भनिएको छ।
सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा परिररहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको स्वास्थ्य विभाग प्रमुख पौडेलले बताए।
महानगरले गत असोज १ गतेदेखि सार्वजनिक स्थानमा चुरोट र सुर्ती खान रोक लगाएको थियो।
महानगरले सर्वाजनिक ठाउँ, विमानस्थल, सार्वजनिक शौचालय, मठमन्दिर, पाटीपौवा, विद्यालय, स्वास्थ्य संस्था, बाल तथा वृद्धाश्रम, पसल, पार्कलगायत क्षेत्रमा चुरोट नखान पनि आग्रह गरेको छ।
अटेरी गर्नेलाई कारबाही गरिने काठमाडौं महानगरले जनाएको छ।