मानसरोवर पुगेर प्रचण्डले दिन खोजेको सन्देश के हो?
काठमाडौं- चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तिब्बतमा अवस्थित कैलाश मानसरोवरको भ्रमण गरे।
सत्ता सम्हालेयता प्रधानमन्त्री प्रचण्डले विशेषगरी भगवान शिवसँग सम्बन्धित तीनवटा प्रमुख धार्मिकस्थलको भ्रमण गरेका छन्।
गएको जुनमा भारत भ्रमणमा जाँदा उज्जैनस्थित महाकालेश्वरको मन्दिर पुगेर आफ्नो धार्मिक यात्रा सुरू गरेका उनले त्यसलगत्तै काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा पुगेर पूजा अर्चना गरेका थिए।
प्रधानमन्त्रीको रूपमा तेस्रो कार्यकाल सरकारको नेतृत्व गरिरहेका प्रचण्डले आफ्नो यसपटकको चीन भ्रमणमा मानसरोवरलाई पनि प्रमुख गन्तव्य बनाएका छन्।
त्यसो गरेर उनले नेपालभित्रका ‘हिन्दु धर्मावलम्बी र हिन्दुवादी पार्टी सत्तामा रहेको भारतको संस्थापन पक्षलाई संदेश दिन खोजेको’ अर्थ लगाइएता पनि कैयौं विरोधाभासपूर्ण व्यवहारका कारण भ्रमणको उपादेयताप्रति विज्ञहरू आशंका व्यक्त गरेका छन्।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन सेप्टेम्बर १६ मा न्यूयोर्क प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट सोझै चीन पुगेका थिए।
चिनियाँ राष्ट्रपति सी जिनपिङसँग एसियाली खेलकुद भइरहेको सहर हान्झाउमा भेटवार्ता गरेका उनले प्रधानमन्त्री ली चियाङसँग बेइजिङमा भेटवार्ता गरेका थिए।
ती भेटवार्तापछि चीनको अर्को सहर चोङचिङ घुमेर तिब्बत पुगेका प्रधानमन्त्रीले बिहीबार मानसरोवरको भ्रमण गरेका हुन्।
हिन्दु र बौद्धमार्गी दुवैले पवित्र तीर्थस्थलका रूपमा मान्ने मानसरोवरको उनको यात्रालाई वितगकै धार्मिक यात्राहरूको निरन्तरताका रूपमा पनि कतिपयले हेरेका छन्।
धार्मिक मामिलाका कैयौं जानकारहरू धार्मिकस्थलको भ्रमणको विरोध गर्नुपर्ने कुनै कारण आफूहरूले नदेखेको भए पनि प्रचण्डको वितगका व्यवहारहरूका कारण उनलाई पत्याइहाल्ने अवस्था आफूहरूले नदेखेको बताउँछन्।
हिन्दु धर्म तथा अध्यात्मका बारे जानकार चिन्तामणि योगी ‘तीर्थस्थल दर्शन गर्दा एउटा र त्यसपछि अर्को व्यवहार गर्नु डरलाग्दो भएको’ ठान्छन्।
नेकपा माओवादी केन्द्रको अन्तर्राष्ट्रि सम्बन्ध विभागसम्बद्ध नेता युवराज चौलागाईं प्रधानमन्त्रीको मानसरोवर यातालाई सद्भाव र पर्यटकीय भ्रमणका रूपमा लिनुपर्ने बताउँछन्।
‘यसलाई सद्भावना भ्रमणका रूपमा मात्रै हेर्नुपर्छ। यसलाई नेपालम धर्मको राजनीति आयात हुँदैछ अथवा भारतीय जनता पार्टीलाई अलिकति सहज हुने गरी माओवादीले आफ्नो धारणा फेर्दैछ कि भन्ने हिसाबले केही मानिसहरूले टिप्पणी गर्न खोजेको सुन्छ। प्रधानमन्त्रीको त्यो उद्देश्य होइन,’ उनको भनाइ छ।
आफ्नो दल कुनै पनि धर्मको विरूद्धमा नभएको र संविधानमा भएका व्यवस्थाप्रति प्रतिवद्ध रहेको उनले बताए।
संविधानले देशलाई धर्म निरपेक्ष राष्ट्र कायम गरेको छ। संविधानले धर्मनिरपेक्षताको व्याख्या गर्ने क्रममा त्यसलाई सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्ने भन्दै परिभाषित गरेको छ।
पछिल्लो जनगणनाअनुसार नेपालको कूल जनसंख्याको झन्डै ८२ प्रतिशत हिन्दु धर्म मान्नेहरू रहेका छन्।
यसै वर्ष अमेरिकी सरकारको विदेश मन्त्रालयले धार्मिक स्वतन्त्रतासम्बन्धी आफ्नो प्रतिवेदनमा ‘भारतको सत्तारुढ दलसँग आबद्ध दक्षिणपन्थी धार्मिक समूह सम्बद्ध संस्थाहरूले नेपालका दलहरूका केही प्रभावशाली नेताहरूलाई हिन्दू राज्यको पक्षमा वकालत गर्न पैसा दिने गरेको’ प्रसंग उल्लेख गरिएको थियो।
पछिल्ला दिनहरूमा ‘धार्मिक सदभावलाई समेत चुनौती दिने हिसाबमा कतिपय तनावपूर्ण परिस्थितिहरू वृद्धि हुन थालेको’ भन्दै त्यसलाई लिएर चिन्ताहरू व्यक्त भइरहेका छन्।
विशेष गरी तराईका जिल्लामा यस्ता घटनाहरू सतहमा आएपछि त्यसलाई नियन्त्रणमा लिन सतर्कता अपनाउन गृह मन्त्रालयले निर्देशन दिएको थियो।
असोज महिनाको पहिलो सातामात्रै विभिन्न धर्म सम्बद्ध २४ संघसंथाहरूले कुनै पनि धार्मिक समुदायको आत्मसम्मानमा चोट पुग्ने गतिविधि नगर्न अनुरोध गर्दै धार्मिक सद्भाव कायम राख्न अपिल गरेका थिए।
हालैका महिनाहरूमा भारतको सत्तारुढ दलनिकट राष्ट्रिय स्वयंसेवक संघसमेत जोडिएर नेपाललाई धार्मिक राजनीतिमा विभाजित तुल्याउने प्रयासहरू भएका भन्ने विवरण बाहिर आएका छन्।
सशस्त्र द्वन्द्वकालमा कतिपय ठाउँमा मठ मन्दिर तोडफोड गर्ने र शोक बारेर बसेका किरिया पुत्रीको हत्या गर्ने जस्ता अरूको धार्मिक आस्थामाथि प्रहार गर्ने कतिपय गतिविधिमा तत्कालीन माओवादी विद्रोहीहरूको नाम जोडिएको थियो।
शान्तिपूर्ण राजनीतिमा आएपछि पहिलोपटक चुनावमार्फत सत्तामा पुगेपछि प्रधानमन्त्री प्रचण्डले पशुपतिना मन्दिरको भट्ट नै फेर्ने प्रयास गरेका थिए।
नयाँ दिल्लीले गम्भीर असन्तुष्टि जनाएको त्यो निर्णयबाट पछि हट्न उनी त्यसबेला बाध्य भएको भन्ने गरिन्छ।
महाकालेश्वरहुँदै अहिले मानसरोवरसम्म आइपुग्दा एक कट्टर कम्युनिस्ट नेताको धार्मिक र आध्यात्मिक आवरण प्रस्तुत गरेका प्रचण्डको ‘नयाँ रूप’ लाई लिएर कैयौं आशंकाहरू बाँकी रहेको जानकारहरू बताउँछन्।