post-slider post-slider

राम मन्दिरको प्राणप्रतिष्ठा : शंकाराचार्यहरु किन असन्तुष्ट?

Image
A A

काठमाडौं- अयोध्याको निर्माणाधीन राम मन्दिरमा जनवरी २२ मा प्राणप्रतिष्ठा हुने मिति तय भएसँगै उक्त समारोहमा को–को सहभागी हुन्छन् भन्ने चर्चा पनि सुरु भएको छ।

धेरै दिनदेखि सोधिएको यस प्रश्नको गत साता भारतीय राष्ट्रिय कांग्रेसले जवाफ दिएको छ।

भारतीय जनता पार्टीले राम मन्दिरलाई राजनीतिक परियोजना बनाएको आरोप लगाउँदै आफूहरु उक्त कार्यक्रममा सहभागी नहुने कांंग्रेसले जनाएको छ।

कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘भगवान रामलाई करोडौं भारतीयहरुले पूजा गर्छन। धर्म मान्छेको व्यक्तिगत कुरा हो तर वर्षौंदेखि भाजपा र आरएसएसले अध्योध्याको राम मन्दिरलाई राजनीतिक परियोजना बनाएको छ। यो अहिले अर्धनिर्मितमात्र रहेको स्पष्ट छ। चुनावी फाइदा उठाउनका लागि मात्रै मन्दिर उदघाटन भइरहेको छ।’

अध्यक्षसहित प्रमुख नेताहरुले राम मन्दिरको प्राणप्रतिष्ठा हुने कार्यक्रममा सहभागी नहुने कांग्रेसले जनाएको छ।

‘सर्वोच्च अदालतको सन् २०१९ को निर्णयलाई स्वीकार गर्दै, जनआस्थाको सम्मान गर्दै, मल्लिकार्जुन खरगे, सोनिया गान्धी र अधीर रञ्जन चौधरीले उक्त कार्यक्रमका लागि भाजपा र आरएसएसले गरेको निमन्त्रणालाई सम्मानपूर्वक अस्वीकार गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ।

विश्व हिन्दू परिषदले भने राम मन्दिर प्राणप्रतिष्ठा समारोहमा भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणीसमेत सहभागी हुने पुष्टि गरेको छ। यसअघि आडवाणी कार्यक्रममा सहभागी नहुने खबर आएको थियो।

कांग्रेसबाहेक अन्य दुई शंकराचार्यले पनि राम मन्दिरको प्राणप्रतिष्ठा कार्यक्रममा जान अस्वीकार गरेका छन्।

यद्यपि अन्य दुई शंकराचार्यले विज्ञप्ति जारी गर्दै सबैलाई कार्यक्रममा उपस्थित हुन आग्रह गरेका छन्।

धार्मिक मान्यताअनुसार शंकराचार्य हिन्दू धर्म गुरुको सर्वोच्च पद हो।

हिन्दू धर्ममा शंकराचार्यलाई सम्मान र आस्थाको नजरले हेरिन्छ।

आदि शंकराचार्य हिन्दू धर्मको दार्शनिक व्याख्याका लागि पनि परिचित छन्।

आदि शंकराचार्यले हिन्दू धर्मको प्रचारप्रसारका लागि चारवटा मठ स्थापना गरेका थिए। ती मठहरुको काम धर्म प्रचार गर्नु थियो।

राम मन्दिरको प्राणप्रतिष्ठा कार्यक्रमको मिति तय भएपछि शंकराचार्यको अडान पनि जान्ने प्रयास भएको थियो।

ज्योतिर्मठका शंकराचार्य अविमुक्तेश्वरानन्द सरस्वतीले उक्त प्राणप्रतिष्ठा कार्यक्रममा देशका चारवटै मठका शंकराचार्य सहभागी नहुने बताएका छन्।

उनका अनुसार त्यो कार्यक्रम शास्त्रबमोजिम आयोजना हुन गइरहेको छैन।

तर श्रेङ्गेवरी मठले विज्ञप्ति जारी गर्दै शंकराचार्य भारती तीर्थको तस्बिरसहित सन्देश पोस्ट गरिएको भन्दै श्रृङ्गेवरीका शंकराचार्यले प्राणप्रतिष्ठाको विरोध गरेको आशंकाप्रति स्पष्टिकरण दिएको छ।

उक्त मठका अनुसार शंकराचार्यले त्यस्तो कुनै सन्देश दिएका छैनन् र अहिले भइरहेको प्रचार गलत हो।

प्राणप्रतिष्ठा कार्यक्रममा सहभागी हुन श्रृङ्गेरी शंकराचार्यको तर्फबाट अपिल गरिएको छ।

यद्यपि शंकराचार्य आफैं अयोध्या जाने र सहभागी हुने वा नहुने भन्ने विषयमा विज्ञप्तिमा स्पष्ट रुपमा केही भनिएको छैन।

अर्कोतर्फ शंकराचार्य अविमुक्तेश्वरानन्दको एउटा भिडियो सामाजिक सञ्जालमा सेयर भइरहेको छ।

भिडियोमा उनी भन्छन्, ‘यदि यो रामानन्द सम्प्रदायको मन्दिर हो भने चम्पत राय त्यहाँ के गर्दै हुनुहुन्छ? यी मानिसहरु त्यहाँबाट हट्नुपर्छ। हटेर रामानन्द सम्प्रदायलाई पहिले प्रतिष्ठा सुम्पिदिनहोस्। हामी मोदी विरोधी होइनौं। तर धर्मशास्त्रीविरोधी पनि हुन चाहँदैनौं।’

श्रीराम जन्मभूमि ट्रस्टका महासचिव चम्पत रायले हालै राम मन्दिर रामानन्द सम्प्रदायको भएको बताएका थिए।

शंकराचार्य अविमुक्तेश्वरले भनेका छन्, ‘चारै शंकराचार्यहरुले कुनै आसक्ति वा घृणाका कारण होइन तर शास्त्रको पालना गरेर त्यसलाई पूरा गर्ने जिम्मेवारी शंकाराचार्यको हो।’

 

Tags: