post-slider post-slider

अमेरिकाले युक्रेनलाई दियो रुसविरुद्ध आफ्ना क्षेप्यास्त्र प्रयोग गर्न अनुमति

Image
A A

काठमाडौं - रुस र युक्रेनबीच पछिल्लो ३३ महिनादेखि चलिरहेको नयाँ मोडमा जाने संकेत देखिएको छ।

दुई देशबीचको हिंसात्मक द्वन्द्वमा हालसम्म हजारौंको मृत्यु भइसकेको छ। कतिपय अपुष्ट रिपोर्टले मृतकको संख्या एक लाखभन्दा बढी रहेको दाबी समेत गरिएको छ।

दुई देशबीचको द्वन्द्वबीच अमेरिकाले ठूलो निर्णय गरेको छ। रिपोर्टहरूका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई रूसमा आक्रमण गर्न क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिएका छन्। युद्ध सुरू भएदेखि युक्रेनको प्रमुख सहयोगी रहेको अमेरिकाले अहिलेसम्म यस्तो अनुमति दिएको थिएन।

रुसले युक्रेनमाथि दबाब बढाउन व्यापक आक्रमण गरेपछि अमेरिकाले आपूर्ति गरेको मिसाइल प्रयोग गर्न अनुमति दिएको हो। बाइडेनको यो निर्णय अमेरिकाको नीतिमा ठूलो परिवर्तन भएको दाबी गरिएको छ।

अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जतिसक्दो चाँडो युद्ध अन्त्य गर्न सबै सम्भावित उपायहरू अवलम्बन गर्ने बताउँदै आएको र युक्रेनलाई दिएको सहायता सीमित गर्ने रणनीति बनाइरहेका बेला अमेरिकाले आफ्नो नीतिमा परिवर्तन गरेको छ।

मिडिया रिपोर्टका अनुसार रुसले युक्रेनमा आक्रमण गर्न उत्तर कोरियाको सहयोग लिएको प्रमाण भेटिएपछि अमेरिकाले आफ्नो नीतिमा परिवर्तन गरेको हो। उत्तर कोरियाले रुसमा हजारौं सेना पठाएको छ। यस निर्णयको प्रतिक्रियामा अब थप घातक हतियारहरू प्रयोग हुने सम्भावना छ।

अमेरिकाको अनुमतिपछि युक्रेनले अब रुसविरुद्ध ठूलो आक्रमण गर्नसक्ने अनुमान गरिएको छ, जसले यो युद्ध अझ भयावह हुने विश्लेषण गरिएको छ।

Tags: